Thursday, May 25, 2017

मेनाटार देखि ओसे सम्म

हरेक शैक्षिक सत्रहरू धेरै पट्यार लाग्दा र एकनासे हुने गर्छन । मैँले शैक्षिक ब्यबस्थापनको काम सम्हालेको पनि झण्डै १० बर्ष पुगेछ । शिक्षण पेशामा रहेरै पनि पढाउन नपाएको आत्मग्लानि एक तिर छ भने, ब्यबस्थापनले उब्जाउने मानसिक थकावट र असन्तुस्टिले खिन्न पारेको अबस्था अर्को तर्फ । यी चक्रब्यूहबाट राहत पाउन म हेरक बर्ष हुने लामो हिउँदे बिदाको प्रतिक्षामा बस्ने गर्छू। डिसेम्बरमा सुरु हुने बिदाको योजना दुई महिना अगावैबाट गर्दा पनि ति रहेका दुइ महिना अलिक धेरै उद्पादक हुने गर्छन । कुनै पनि बिदा, छोटो होस वा लामो, एउटा थकाई मार्ने अन्तराल मात्र नभएर, भ्रमण गर्ने, आफन्त सँग भेटघाट गर्ने, नयाँ र उत्साहबर्धक काम गर्ने अनि आत्मचिन्तन गरेर अबिरल जीवनको समिक्षा गर्ने, अवसर पनि हो ।

सन् २०१६-१७ को डेड् महिने बिदामा बेङकोक वा दिल्लि घुमेर होइन, तर भिन्न र अनौठा ठाऊँहरुको यात्रा गरेर माथि उल्लेखित उदेश्य पुरा गर्ने अठोट गरेँ । तेसै पनि यी ठाउँ पुग्ने अभिलाशा धेरै पुराना भइसकेका थिए।
पहिलो गन्तब्य छेऊकै आफ्नो जन्मभुमिलाई छाने । भर्खरै खोलिँदे गरेको नयाँबाटो लिएर हामि सपरिवार दोरोखा पुग्यौँ । यो समयमा गाउँभरि नै पुजा, पुराण, बिहे इत्यादि हुने गर्छन । सुन्तला र ज्यामिर प्रसस्तै पाइन्छन भनेँ समय को परिबर्तन र देशको बिकास सँगै यी कुना ठाउँमा बिकासको लहर आएको छ । त्यो भारि बोकेर, झाला-झार्लाङि गरेर, बाँच्नु पर्ने अबस्था पलायाम भइसकेको छ । अझ दोरोखा गाउँ ता तुलनात्मक रूपमा पहिले नै केहि अगाडि पुगि सकेको । त्यहि पल्ला गाउँमा भइरहेको आफन्तको घरको पूराणमा सम्लग्न भएर भोलिपल्ट मैँले पारि गाउँ मेनाको बाटो लिएँ ।


४० बर्ष अगाडि बिद्यार्थि छँदा हरेक १५ दिनमा वारिपारि गेरको यो बाटो कतै उस्तै लाग्ने कतै बेग्लै। गाडिको बाटो भए पनि पारिपट्टि जानलाई बेलुका साम्चिबाट आउने गाडि कुर्नू पर्ने भएकोले र त्यो पुरानो सम्झना ताजा पार्ने बिचारले मलाई हिडेर जाने मनसाय भयो । त्यो समयमा दौडेर एक घण्टामा पुरा गरेको बाटोलाइ आज झण्डै अढाई घण्टा लगाएर म तुर्सा किनार पुगेँ । सँधैको हिँड्ने पुल भन्दा निकै माथि पर्ने साम्चू र नाम्चूको दोभान छेउमै निर्माणाधिन पूल खसेर भएको दुखद घटनाको याद गराउने भग्नाबसेस हेर्दै एउटा सानो अस्थायि फलामे पूल तरेर पारि पुगेँ । गत बर्षको बर्खे झरिको बेला फलामे पुल जोड्दै गर्दा लठ्ठा चूँडिएर ९ जना स्रमिक उर्लिँदो नदिमा खसेर ज्यान गुमाएको दुखद समाचार आएको थिए ।  समयको मलमले त्यो घटनालाई पनि बिर्साइ सकेछ । यो ता हिउँदको बेला छ, त्यहिँ तल बगरमा २-४ वटा बोलेरो गाडि बिसाएर करिब १५ जना जति मानिसहरू पिक्निकको रमझममा मस्त थिए । म वारिपारिका दृश्य हेर्दै गाडिको कच्चिबाटो लिएर फेरि किनारै किनार उँधो झरेँ । झण्डै १ कि.मि. हिँढे पछि एउटा अर्को बोलेरो आयो, अप्ठ्यारो मान्दै हात उठाएर गाडि रोक्ने ईसारा गरेँ। भाग्यबस गाडि रोकियो, चालक भाइले चडाए अनि त्यो चिरपरिचित बाटोमा पहिलोपल्ट गाडि चडियो । कुरा गर्दै लाँदा ती साना भाई चालक ता मेरै सहपाठि मन बाहादुर बानियाँ का ९ छोरा मद्येका एक रहेछन । धेरै चलाख र गाडि चलाउन उत्तिकै चतुर, सानो गोरेँटो जस्तो बाटोमा, पानि, हिलो, ढुङ्गा जोगाउँदै, डेड घण्टा लगाएर मेनाको धमिले गाऊँमा मलाई ओराले । सानो छँदा त्येति समयमा त्यो ठाउँ हिँडेरै पुगिन्थ्यो, जे होस गाडिले केहि राहत ता दियो । भाडा लिन भतिजले अस्विकार गरे, म धन्यबाद टक्र्याएर काकाको घर तिर लागेँ ।।

काका-काकिको त्यो पुरानो घर पनि धेरै आधुनिक भइसकेछ । बिजुलि बत्ति आएको छ, घरको करेसामा खानेपानि, पक्कि शौँचालय, गोबर ग्यास आदीले सुबिधा पुगेको छ भनेँ, घरमा टिभी देखि धेरै आधुनिक सुबिधाका सामाग्रिले परिपक्क देखिन्छ । यो परिवारको आफ्नै दुखद भोगाईको इतिहासलाई सम्झेँ अनि यो आजको सम्पनतालाई हेरेर भित्र भित्रै गदगद् भएँ । यो सकारात्मक परिबर्तनले हामि सम्पुर्ण परिवारलाई नै धन्य तुल्याएको छ ।

भोलि पल्ट बिहानै खाना खाएर गाउँ घुम्न निस्कियेँ । गाउँको बनोट उहि छ, टिनका छाना लगाएर नयाँ केहि पक्कि र केहि पुरानै गाह्रे घरका छानामा जस्ता पाताले ढाके पनि पारालका छाना भएका साना गाह्रे र झुप्रे घर पनि छँदै छन् । गोरेटा पनि उनै हुन्, मात्र कता कता गहिरिएछन, कतै साना ढुङगा ठुला भएर बाहिर निस्केछन, कतै भासिएछन, कतै नयाँ बोट बिरूवा पलाएछन् भने कतै मासिएछन ।  यो ता प्रक्रितिको स्वभाबिक परिबर्तन हुने कुरा मात्र भयो । घरबारिमा एउटा नौलो दृश्य चैँ अलैँचिले आँगन सम्म ढाकेको देखियो । अनायासै यो गत ५-१० बर्षमा अलैँचिले धेरै आमदामि दिन थाले पछिको यो अबस्था प्राय देशै भरि उस्तै छ ।  अलैँचिको आमदामिले किनेका गाडि र घरमा उपभोगका साधन प्रसस्तै देखिन्छन् । राईस कुकर, बोआइलर, जिउमा लगाएका न्याना पहिरन अनि हातमा बोकेका महङ्गा मोबाइलले मलाई भने ति अतितका अभाव, पिडा र गरिबी अबस्थाको सम्झना गरायो । आज तिनै गाउँका मानिस अमेरिका, क्यानाडा र अस्ट्रेलिया पुगेका आफन्तको ताजा खबर बताउँछन् मलाई ।


म कुनै परिचित घरमा पस्दै, अरू अपरिचीत सँग परिचय लिँदै म त्यो आफू जन्मिएको र हुर्केको बेँसि खेतमा पुगेँ। त्यो टारिको खेतमा रहेको एउटा पर्खालको भग्नाँवशेसमाथि बसेर (सायद ५४ बर्ष अगाडी त्यो नै म जन्मेको घर थियो) एउटा ‘सेल्फि’ लिए र तलतिर खेतको माझमा अबस्थित घरलाई हेरेँ, जाहाँ हामि सबै छोराछोरि जन्मेर हुर्केको आँगन प्रस्ट देखिन्थयो । अनि त्यहि खेतै खेत मन्दिरको बाटो लागेँ । बुबाको नेत्रित्वमा सम्बत् २०२१ मा निर्माण भएको यो शिबालयको प्राङगडमा मैँले साउँ अक्षर सिक्नका साथै गिता र चन्डी कन्ठ गरेको थिएँ । यहि मन्दिरलाई केन्द्रित गरेर धेरै पुराण, पुजापाठ, र अरू सामाजिक कामहरू हुने गर्थे । मन्दिरले नयाँ रुप पाउन लागेको र सम्योगबस आजै मूर्तिहरू छेउमै सारेर त्यो ठाउँमा भव्य मन्दिर बन्न लागेको कुरा थाहा भयो । म र मेरा गाउँका धेरै सहपाठिलाई अक्षर चिनाउने मेरा काका श्री खडानन्द भट्टराईको नेत्रित्वमा यो काम भएकोले र म पनि त्याहाँ भेला भएका केहि गाउँका मित्र सँग सहभागि हुन सकेकोमा मलाई अरू गर्व भयो । अर्को एक बर्ष सम्ममा नयाँ शिबालय बनिने आशामा म फर्केँ।

गाडि चड्ने आशा नगरि दाज्यु राम प्रसाद, भाई लक्ष्मण गाम्नागे र मैँले पढेको पहिलो स्कूल चाङ जाने भिरको बाटो लिएँ । आँखा चिम्लेर दौडिने त्यो बाटो ओर्लन निकै गाह्रो भयो । तर त्यो ४५ बर्ष अगाडिको स्म्रिति ताजा गर्दै म तल नालुङ खोला तरेँ अनि तेर्छै नयाँ गाडिको बाटो निक्लिएँ । त्यो बाटो हिँड्दै गर्दा मैँले मेरा पहिला हेडमास्टर  श्री कार्थकलाई सम्झेँ, शिक्षाको गुणस्तर राख्ने हेतू माथिल्लो कक्षामा गइसकेका हामि स्कुलले बिद्यार्थि सबैलाई पोहोरकै ठाँउमा झार्ने श्री आचू बाबुको स्मरण गरेँ, पहिलो पल्ट जोङखा भाषा सिकाउने हाम्रो बुबाका मित्र लोपेन निमा वाङदिलाई सम्झेँ । अनि आफ्नै दाज्यू डा. गोबिन्दराज भट्टराई जसले हरेक साँझ र झिसमिसेमा प्रचुर रूपमा लाग्ने निद्रा बाट ब्यिउझाएर मलाई शिक्षाको मार्गमा लगाईदिनू भएकोमा फेरि क्रितज्ञ हुँदै म पुनः तुर्सा किनार पुगेँ । पछाडिबाट आउने गाडिको आवाजले खोलाको गर्जनलाई छिचोलेर मलाई पछाडि फर्कायो । तल सटक मुनि बस्ने एक शुभचिन्तक सुब्बा भाई रहेछन, गाडि रोकेर आश्चार्य मान्दै मलाई चड्ने आग्रह गरेँ । म निकै थाकि सकेको थिएँ, त्यसैले धन्यबाद दिएर म भेरि अर्को बोलेरो चढेँ । उकालो बाटो हिँडनुको साटो, दोरोखाको रमणिय गाऊहरू  वल्लो छेऊ देखि पल्लो छेउ गर्दै एक घण्टा मै मानेँ गाउँ  पुगेर गाडि रोकियो । ति गाउँले शुभचिन्तकले पनि भाडा लिन अस्विकार गरे बरू उल्टै , “तपाईँको २०१८ को चुनाबमा हामिले धेरै आशा गरेका छौँ है” भन्ने उत्साहबर्दक सल्लाहलाई मनन गर्दै, धन्यबाद दिएर म मानेगाउँ घरतिर लागेँ ।।


यो यात्रा गर्दा गर्दै मलाई त्यो ‘पाहाड’ पुग्ने ईच्छा अझ गहिरो हुन थाल्यो । भोलि पल्ट ट्याक्सिमा चढेर साम्चि झर्दै गर्दा ति अतितका कठिनाईलाई फेरि एकपल्ट केलाएँ । त्यो अन्धकार धेरै हद सम्म हटेको छ, आशाका किरण पलाएका छन्, र भौतिक सुबिधा बडेको छ । सन्चारको बिकाशले देशबिदेशका समाचार सुन्न र बुझ्न सक्षम छन् मानिसहरू । त्यो बेला दिनमा २-४ घण्टा सुनिने रेडियो नेपाल गाउँका २-४ घरमा मात्र उपलब्ध थियो । आज घर घरमा ‘डिस’ टिभि छन्, ४०-५० वटा चेनेल आउँछन्, इन्टरनेट छ ।

मैले मेरो जीवनको सबै भन्दा महत्व ५ बर्ष कक्षा ६ देखि १० सम्म पढेको ठाउँ, यो सानो साम्चि शहर आज पनि झण्डै उस्तै छ । आज साना गाउँबाट उठेर कति ठाउँहरू शहर बनिसकेका छन् भनेँ, धेरै पुरानो यो शहरले किन हो बिकासको काँचूलि फेर्न सकेन । जे भए पनि मलाई मन पर्ने ठाउँहरु मध्येको यो शहरमा जागिरबाट अबकाश भएपछि बसोबास नै पो गरौँ कि लागेको छ ।





यात्रा ता बाँकि नै थियो।

हामि दुई दम्पति गौरादह घर पुग्यौँ । भोलिपल्ट साँलदाजूलाई फोन लगाएर ताप्लेजुङ जाने सुझाब राखेँ । धेरै नसोची दाईले सल्लाह गर्न भाङमारी आउन भन्नू भो, म दौडेर पुगेँ । “ल हुन्छ भाई म तिमिहरूलाई म पुर्याएर लयाउने भएँ” भने पछि, मेरो यसपालिको यात्रा ‘मेनाबाट ओसे सम्म” हुने पक्का भयो।

२-४ दिनको तयारी पछि दाजूले बोलाउनू भयो, हामी सबैकि ७५ बर्षीय कान्छि फुपुले पनि हामि सँग जाने ईच्छा जाहेर गर्नू भयो । त्यो भन्दा हर्ष हामिलाई के हुन्थ्यो । बरगाछिबाट हामि ३ जना बिहानै बाटो लाग्यौँ । सल्लाह अनुसार राजमार्गमा पुग्दा उताबाट, कमल दाई, निर्मला भाउज्यू र दाज्यू गोबिन्दराज आईपुग्नू भयो । हर्ष उल्लासका साथ हामि अघि बड्यौँ । पुर्व पश्चिम राजमार्ग छोडेर ऊत्तर लाग्ने ठाऊँमा यो यात्रामा एक अनौठा ब्यक्ति सामेल भए । वाहाँ अन्न र नुन नखाने, एक त्यागि समाजसेवि फलहारि स्वामि थिए ।  

केहि बेरमै हाम्रो सवारीले हँडिया बूधबारे भएर होचा पाहाड चढ्न थाल्यो । रमाईला गाउँहरू, हरिया खेतबारि छिचोल्दै  रमणीय चियाबारी देखिन थाले । छिट्टै कन्याम, सानो पाथिभारा, साना बजारहरू पार गर्दै, रमाईला गफगाप र बिशेस कमाल दाजूका अनन्त टिप्पणि र कमेन्ट्रिका साथ हामि ईलाम पुग्यौँ । यो सुन्दर पाहाडी शहर तिनवटा ‘अ’ - अम्लिसो, अलैँचि र ओलनका लागि प्रसिद्द छ भन्ने खुलाशा पनि कमल दाजुबाट भयो भने, गोबिन्द दाजूका एक बिशेस  आज्ञाकारी बिद्यार्थि साभार दिउँसोको खाना होटेलमा सम्भव भएपछि, हाम्रो रमाइलो यात्रा जारी रह्यो ।

प्राय उत्तरतिर केन्द्रित यात्रामा छिट्टै नेपाल-चिनका सिमानाका हिउँले ढाकेका चुचुरा देखिए । कन्चन्जङ्गा को पश्चिमि भाग र त्यससँगै जोडिएको कुम्भकर्णको अवलोकन गर्दै साँझ पर्दा थर्पू पुगियो । त्याहाँ चलिरहेको एउटा घर पैँचोमा सामेल भई प्रसाद लिएर भर्खरै निर्माणाधिन बाटो लिएर अगाडि बडियो । रात परिसकेको थियो, बाटो जति अगाडि उति जटिल हुन लाग्यो । कुनै ठाऊँमा ओर्लँदै, ढुँङगा चक्का मुनि राख्दै, जङ्गलको साँगुरो बाटोमा चालकले धेरै गुनासो गेरर तर मेहनत र धैर्यका साथ झण्डै ८।३० बजे मात्र हामिलाई च्याङथापूको जगतमा पुर्याए ।  त्याहाँ होमस्टेको सुबिधा रहेछ । धेरै सत्कारका साथ गराइएको अति स्वादिष्ट नेपालि भोजन पछि त्यो गेस्टहाउसको न्यानो कोठामा, भोलि हुने रोमान्चक यात्राको प्रतिक्षामा सुतियो ।

भोलिपल्ट जगतमा रहेका पुराना ठाऊँहरू, स्कूल र सानो बजार घुमि सकेर, दाईहरूबाट यो ठाउँको, याहाँका आफन्तहरूको परिचय गराइए पछि, बिहानको  खाना खाएर पुन उहि हिजोको बाटो लियौँ ।  नाम्रेक, सेरेजा, फाक्लुङ, सामाखू, ओयाम, थर्पू, यि सबै हाम्रा आफ्ना र नातागोता का गाउँ थिए अरे । तिनै ठाउँहरू हुँदै तल काबेलि झरियो अनि फेरि उकालो चडेर, तमर र काबेलिको मनोरम सङ्गम हेर्दै, गुराँशका बुटा, अम्लिसो घारि हूँदै हामि साँझपख ताप्लेजुङ बजारको पाथिभारा लजमा बास बस्न पुग्यौँ ।

योजना अनुसार भोलिपल्ट हाम्रा परमपुज्य काईँला बाको घरमा पुगियो अनि जीवनमा पहिलो पल्ट वाहाँको दर्शन गरेँ । त्यो दिनको मलाई बर्सौँ देखिको  तपस्या थियो, आज आएर बल्ल पूरा भयो । अर्को यो यात्रामा सहभागि हाम्रि कान्छि फुपुको आफ्ना काँलदाजूसँग बर्सौँ पछाडि हुनसकेको सहबास, हामि सबैका लागि यस यात्राको ठुलो उपलब्धि र हाइलाइट नैँ थियो । दाजू-भाई र सम्पूर्ण सँगको भला कुसारि, अनि घर वरिपरि फलेका सुन्तला र त्यस पछि स्वादिस्ट भोजन गरेर हामि ताप्लेजुङ बजार र यस वारिपरिका गाउँठाउँको अबलोकनार्थ निस्क्यौ ।


सुकेटार पुगेपछि अरू माथि जानलाई हाम्रो जस्तो सानदार मोटर पर्याप्त भएन । फोरह्विल भएको ट्याक्सि चडेर साह्रै अप्ठ्यारो बाटो हुँदै माथि देउरालि पुगियो । त्याहाँ बाट हेर्दा माथि पाथिभारा, त्यसको पछाडि कुम्भकर्ण अनि वरिपरिका रमणीय गाँउहरु देखिए । केहि बेर प्रयास गेरपछि कमल दाइले हामिलाई डिलमा चडेर फावा खोला पारिको ओसे गाउँ ठम्याइदिनु भयो । हाम्रा आँखा त्यहिँ अडिए, दाइले घर मात्र ठम्याउनुभएन, घर-खेत, गोठ लाने पाताल देखि, हाम्रा जेष्ठ बूबा बसेको वारि पटिको गाउँ सबै सबै देखाउनू भयो । हामि जुनै कारणबास जाहाँ जाहाँ पुगे पनि, हाम्रो उत्पतिको थलो भने यहि थियो । धेरै बेर वारिपारि हेर्दै, त्याहाँका भिर पाखा र गाउँ हेरेपछि  फेरि केहि तल झर्यौ । त्यो पाटोमा, तल अबस्थित मावलि गाऊँ हाङदेवा देखियो तर त्यो भन्दा तमर पारिको खोक्लिङ तुलशालाई नदेखाइ हुन्न्थ्यो । उनकि आमाले बर्षौँ देखि सुनाएका कथाको थलो त्यहिँ थियो । सय बर्ष अगाडिको कुरा त्यो, खोक्लिङका “थरि” ओझाकि भान्जि भएर बिताएका बाल्याबस्था र सानै छँदा परिवार बँसै जानुको बाध्यताका कथाको पुर्बाधार त्यहि खोकलिङ  थियो । उनि आमाले भनेका कुरा सम्झन्छिन, “आमैले भन्नुहुन्थयो, ती ओझा धेरै  धनि थिएरे, गाऊँका ठुला ठकेदार, कमारा कमारी भएका, कति भाई लाहूरे पनि, उनिहरूलाई सारै माया गर्ने अरे वाहाँलाई” । तर त्यो बेलाको परिस्थिति बिवस “आमैको” परिवार भने ओझाहरुबाट छुट्टिएर फालेलुङको बाटो मुगलान पसेछ । पछाडि अफ्नो जेथोमेथो लिन फर्कँदा बाबा चैँ यतै पाहाड मा देवबसान भएछ भने, भुटान पुगिसकेको सानो टुहुरो परिवारले भोगेका पिडाको इतिहास अर्कै छ ।






अर्को नपुगि नभएको ठाउँ ताप्लेजुङ बजार स्थित बुबाले अध्ययन गरेको पाठशाला, जून चैँ पदयात्रा द्वारा दर्शन गराएरै छाड्नु भयो गोबिन्द दाजूले ।


गाडि चडेर ओरालो लागेपछि फलहारि गुरूजि पनि शान्त हुनुभयो । बेलाबेलाको गफगाफ का बिचमा मेरो मन फेरि मेनाको उहि पुरानो ठाउँमा पुग्यो ।  बुबा बर्सै पछि परदेश (पाहाड) जानू हुन्थ्यो। आमा २ या ३ बर्षको अवधि पारेर हाङदेबा माइत र ओसे बालाई भेट्न भनि २-३ महिना नै हराउनू हुन्थ्यो । काखको सानो भाइ वा बहिनि बोकेर, हामि अरू रहेका भर्ल्याङ भूर्लुङ केहि छिमेकिको रेखदेख या १० बर्षिय ठुलदिदीको भरोसामा हिडे पछिका हाम्रा मनका बेदना सँग आउने कल्पनाका घर र आफन्त यहिँ थिएछन् । हामिले आमाको अनुपस्थितिको तितो अनुभव गर्दै, धुँआ र धूलो भोगि रहँदा, हाम्रा प्रतिक्षाका आँखा त्यो पारिको सिनकौलि डाँडामा पुगि रहन्थे  भने, फर्केर आएपछिको आनन्द र ती यात्राका बिबरण, हजुरबुबा र उता भएका आफन्त र छिमेकिका कुराहरू धेरै दिन सम्म सुन्न पाउँदा पनि यहिँ पुगेको कल्पना गर्थियौ रहेछ ।

आज भुटानका सबै ठाँउको यात्रा गरिसक्दा हाम्रै जस्ता सयौँ गाउँ उस्तै दुर्गम र अनटङकार  थिएछन । प्राय सबै ती ठाउँहरूमा बिकाश आई सक्दा आज बल्ल यो हाम्रो गाउँले काँचूलि फेर्न थालेको छ । घरघरमा टिभि छन्, समाचार क्षणक्षणमा सुनिन्छ, धेरै उज्यालो भएको छ । उसबेला दिनमा २-३ घण्टा प्रसारण हुने रेडियो नेपाल सुन्नलाई गाउँबाट छिमेकि आउँथे । कुनै समयमा हाम्रो घरमा भएको ग्रामोफोन सुन्न पनि गाउँबाट छिमेकि हरेक रात राँको बालेर आएको सम्झना छ ।

फिदिम, हामिले सँधै सुनेको अर्को ठाउँको नाम । हाम्रो बास त्याहाँको लजमा हुन पुग्यो । सानो बजार लाग्दो रहेछ, हामि त्यो गाउँका साग सब्जि, फलफुल, गुन्द्रूक- सिन्कि, सुनतोला को बजारमा घुम्दै गर्दा कसैले, “तिरिमा लाने” भन्दै साथिलाई गालि गेरको सुनेँ । यो शब्द ता उता पनि पुगेको छ !! अनि सम्झेँ, बोलि उहि छ, भाषा उहि हो, रहन सहन, करूणा र बेदना पनि उस्तै । त्यो भिडमा देखिने ४ जात ३६ बर्णको बिबिधता याहाँ जस्तै उता पनि निर्माण भएको छ । नेपालि जातिको बसाईँ सराइँ को चलन र ईतिहास धेरै लामो रहेछ । मैँले हिजो च्याङथापूमा भेटेका मेरा काकाका मामाका नाति पनि भुटानको मेनाको गाब्जि  पौँठाक मा हुन सक्थे, यदि मामाले पनि भान्जाकै जस्तो फालेलुङको बाटो लिएको भए । ति धमिले गाउँकि धिमाल्नि आमैले पाँचथरमा भएका उनका मामाका नातिलाई सम्झेर त्येति धेरै बिलौना किन गर्नु पर्थ्यो र, यदि उनलाइ श्रिमानले मुगलानको प्रलोभन देखाएर त्येत्रो भिषण जेमद्वार कटाएर त्यो ठाऊँ सम्म न लगेको भए । यो बिधिको बिधान हो वा आर्थिक स्थिति र अभावको कारण हो, आजका पुस्तालाई ठम्याउन गाह्रो छ । तर यथार्थ यहि हो - चौतारि र धारापानि याहाँ पनि छन् वाहाँ पनि छन्, बेँसि र बेठि याहाँ र वाहाँ दुबै तिर छन्, डोका नाम्ला,  ढिँकि जाँतो, तुलशिका मोठ र गुन्द्रि-गजरा दुबै तिर छन् । तिनै अनुहार, तिनै रूढिबादि,तिनै अन्धबिश्वाष, धामि झाँक्रि आज सम्म दुबै तिर बाँचेकै छन । उस्तै हुन तर रास्ट्रियताको क्रितिम पर्खालले  भिन्न पार्न खोजेको मात्र ।


यिनै बसाईँ सराई बाट पिडित भए पनि, म, आज आएर ति पुर्खाले भोगेका चरम पिडाबाट मुक्त भई सकेकोले, सहजै सन्सारको परिक्रमा गर्न सफलछु । त्यसको तुलानामा यो छोटो यात्रा ता धेरै पल्ट दोहोय्राउनू परे पनि आज साधन र सुबिधा छ, मन र समय मात्र भए पुग्छ । 

यो छोटो तर स्मरणिय यात्रालाई अझै उजगार बनाउने प्रयास रहनेछ । एउटा बिकल्प चैँ एउटा सानो समुह बनाएर त्यो ऐतिहासिक बाटो पदयात्रा गर्ने इच्छा छ- ओसे देखि मेनाटार सम्म । ईतिहास दोहोर्याउन नसके पनि एउटा छायाङकन गर्ने मन छ । चित्त बुझेमा मलाई तलको email ठेगानामा सम्पर्क गर्दै गर्ने, एकदिन सफल भइएला ।।

 bhattaraisr@gmail.com



No comments:

Post a Comment