Thursday, December 31, 2020

मैले चिनेका मेरा माईला बा

 सन् १९९० को बर्खाको मध्य, एक दिन अचानक भुटानको अति दुर्गम ठाउँमा अबस्थित आफ्नै गाऊको स्कूलमा कार्यरत तुलशाको फोन आयो । म उस बेला दिल्लि नजिकैको रोहतकको महर्षि बिश्वबिद्यालयमा एम.एस.सि. को दोस्रो बर्ष प्रबेस गर्दै थिए । त्यो दुर्लभ फोनले प्रफुल्ल पार्नुको साटो केहि चिन्ता गराउनूको कारण साना आफ्ना दुई बच्चा पनि उनिसँगै थिए । तर यसपालि भनेँ कुरा अर्कै थियो । धेरै निरासाका साथ हाम्रो परिवारको भुटानको बसाई नाजुक अबस्थामा पुगेको र म घर आई हाल्नू पर्ने कुरा उन्ले बताए पछि मैँले भोलिपल्ट नैँ रेल चढ्ने भरोसा उनलाई दिएँ ।

 यू.पि., बिहार र बङ्गाल को गर्मि र रेलको भिड भोग्दै म आफ्नो देशको साम्चि जिल्ला पुगेँ । सधैँ झैँ झोलामा केहि पउरोटि, बिस्कुट र पानि हालेर म उकालो बाटो लागेँ । त्यो बर्खाको बाटो, खोला, झोडि र भिर छिचोल्दै, बाटै भरि जुकालाई टोकाउँदै र टिप्दै साँझपर्दा लखतरान परेर म दोरोखा घर पुगेँ । परिवार सँगको मिलनले केहि राहत दिए पनि, भोलि पल्टै पारि गाऊँको यात्रा अनिबार्य थियो । त्यसरि नैँ फेरि तल पुलटार हूँदै, बिशाल तुर्सा नदिको पूल तरेर, अनि नाक ठोकिने उकालो चडेर, बिसाउँदै फेरि सुस्त गतिमा हिँडदै जन्म भुमि गाऊँ मेना पुग्दा, ‘सेन्सस’ (जनगणना) को टोलि पौँठाक पुगेको थाहा भए पछि म अरू डेड घण्टा हिँडेर साँझ पर्दा त्यस ठाऊँमा पनि पुघेँ । भोलिपल्ट छानबिन सुरू भयो । ठुला ठेलिका ढड्डा पट्टा पल्टाइए र अचानक एऊटा ऐतिहासिक पन्ना उघ्रियो, जुन ति नागरिकता तोक्ने टोलिका कार्यकरता बाट पनि लुक्न सकेन । सन् १९५६ मा उठाइएको त्यो जनसङख्यामा मेरा माईला बडाबा श्रद्वेय टेक नाथ को नाम बाट सुरू भइ सबै परिवारको नाम सहित अनि तल मेरो बुबाको नाम चिरन्जीबि “निज भाई” भन्ने उल्लेखित भेटियो । वास्तबमा भरे भुझ्दा ती अक्षर पनि बडाबाकै थिएछन । उसबेला यो देशमै लेखा पढा भएका मानिस थोरै मात्र थिए त्यसैले गाउँमा रहेका शाक्षारबाट सरकारी काममा सहयोग लिनू सामान्य मानिन्थ्यो । त्यहि नामावलीको आधारमा मैले १९५८ को अगावै मेरो परिवार यो देशमा प्रबेस गरेको प्रमाण पुरयाउन सफल भएँ र मेरो नागरिकता बन्यो, र फेरि म र मेरो सानो परिवार सधैँको लागि भुटानि नागरिक हुन पुग्यो । त्यो कठिन समयको एउटा चमत्कार नैँ भएको भने हुन्छ ।

 सायद दुई बर्ष पछाडि होला मैँले बालाई दमकको भाङबारी वाहाँकै घरमा भेटेर यो घटनाका बारेमा भन्ने मौका पाएँ । खुसि हुँदै वाहाँले भन्नूभो, “बाबू त्यो पनि हाम्रै मुलुक हो, त्यो देश प्रति हाम्रो परिवार आभारी छ र सँधै रहनू पर्छ” । यस कुराले त्यो बेला मलाई छोएको थियो । तर मैँले वाहाँको भुटान बसाइ बारे बिस्त्रित रूपमा नसोधेकोमा  मलाई आज त्यो कुराको भने खेद छ । बिधिको बिडम्बना, हाम्रा सातजना  बाहरूमा सबै भन्दा  पहिले हामिले वाहाँलाई गुमायौँ अनि समयको बेग सँगै उस बेलाका वाहाँका भुटानि इष्ट मित्रहरू पनि गई सकेकाले कति भित्रि कुराहरू उल्लेख गर्न गारोछ ।

 पुर्बी नेपालका बिभिन्न ठाऊबाट बिभिन्न कारण हजारौँ नेपाली मुगलान पस्दा हाम्रा परिवार बाट पनि सबै भन्दा पहिले माइला बुबा आएर त्यो साम्चि भुटानको देनचुखामा बस्न पुग्नू भएछ । त्यस पछि अरू भाईहरू क्रमस आउने फर्कने क्रममा अन्तरे देबी प्रसादले पुरै जीवन नै यहि देशमा पुरा गर्नू भयो भने, मेरा बुबा कान्छा सन्१९५८ बाट १९७७ सम्म र माइला बुबा आफै जसलाई ठुला गुरू भनेर त्यो गाऊँले चिन्थ्यो, सन् १९४५ बाट १९६० (करिब १५ बर्ष) यो पूण्य भुमिमा पारवारिक जीवन बिताएर पुन: नेपाल फर्केको कुरा थाहा भयो ।

 त्यो समयको बसाई- सराई बाद्यता मात्र नभएर धेरै चुनौतिपूर्ण भएको कुरा, केहि हामिले सुनेका र केहि आफैँले पनि भोगेकै हो । हाम्रो परिवार पनि यस कुराबाट उन्मुक्त थिएन । अभाव, दरिद्री र रोग ब्याधिले ठूला साना सबैलाइ एकनास सताएको हुन्थ्यो भनेँ, ठाऊँको दुर्गम्ता, झारा झार्लाङ्गि र सरकारी करको भार सबै मुलूकमा जटिल थिएछ उसबेला । यस्थै परिस्थिती माझ हाम्रा माइला बाले पनि त्यो भुटानको अनट्ङकार ठाऊँमा रहेर, जीवन पार्जनको क्रममा ओडारमा, पाखा पखेरोमा, पाटि पौवामा गुजारा गरेका साथै ठूलि बडिआमालाई पनि माई रोगको ब्याधिमा गुमाएको जस्ता दर्दपूर्ण कुराहरू थाहा लाग्यो । यी भयानक  परिस्थिति बिच पनि त्यो अशिक्षीत र अन्धकारमा ज्ञानको ज्योती फैलाउन धैरै सफल भएको कुराले वाहाँको दुरदर्शिता प्रष्ट हुन्छ । त्यो छोटो बसाई बिचमा, पाठशाला बनाएर गाऊँमा प्रौड शिक्षा चलाएको, पूराण र अरू धर्म कर्मका कामहरू गाराएको,  आदी कुराले वाहाँ त्यो समय भन्दा धेरै अगाडि हुनुहुन्थेछ भन्ने प्रष्ट हुन्छ । सायद वाहाँले सधै कल्पना गरेको र केहि मात्र सम्म अंकुरण गर्न सफल हुनुभएको त्यो उज्यालो सन्सार हेर्ने र आफ्ना सन्तानलाई पनि शिक्षाको उज्यालोबाट बञ्चित नराख्ने हेतू त्यो ठाऊँलाई समयमै छोडेको न्यायोचित लाग्छ आज ।

 केहि महिना अगाडि मात्र त्यो गाऊँको यात्रा गरेर फर्केको थिएँ, धेरै बिकाश आइसकेछ । बाटो, बिजूलि नयाँ स्कूल, हेल्थपोस्ट आदिले त्याहाँका मानिसलाई धेरै राहत दिएको छ । म भनेँ उसबेलाका धेरै कुराहरू जान्न उत्सुक भएर पनि कुनै स्रोत नपाऊँदा निराश फर्केको थिएँ ।  एक दिन अचानक मेरै थिम्फू निबासमा हाम्री मित फुपू (साँल्दिदि चन्द्रमाया दाहाल) आएर  सँधैझैँ एउटा अनौठो गित गुन्गुनाउन थाल्नू भयो । वाहाँले यसरी सँधै गुनगुनाउने नेपालि पारम्पारिक गित जस्तै सङ्गिनि, बालन, मागल, असारे भन्दा छुट्टै यो गायनले मलाई जिज्ञासा भयो र मैले त्यस बिषयमा सोध्दा भन्नूभयो, “ए नानि यो ता भजन हो, हामि सानो छँदा पारी म्याना मा सरदार कूइकेलको घरमा ठुला गुरूले पूराण भन्नू भएको थियो । दिऊँसोको पुराण सकेपछि बेलुका केटाकेटि भेला पारेर यो भजन गाउन लाऊनू हुन्थ्यो । मलाई आज सम्म त्यो भजन कण्ठ छ”। वाहाँको बिवरण अनूसार यो करिब सन् १९५० अथबा सम्बत २००७ को हुनुपर्छ । मैँले पुरै भजन रेकर्ड गरेँ जुन चैँ भगवान शिब गोकुल गई बालक कृष्णलाई भेटेको रहस्य रहेछ जुन यस्तो छ ।

 हे नृप तम तिमि सुन अर्को,

बाल कृष्ण महिमा छ अपारको ।

गर्न दर्शन भनिकन ताहाँ,

जोगि रूप शिब गए ब्रजमाहाँ ।।

 

नन्दका घर सरासर आए,

द्वारमा अलग शब्द जगाए ।

डिमडिम डमरू फेरि बजाए,

बाल गोपहरू बिघ्न डराए ।।

 

देखि तिनकन कुकुर अति भुके,

दौडि गई घरमा सब लुके ।

देखि जोगिकन नन्दकि रानी,

भिख ठिक गरी ल्याइन् खुशी मानी ।।

 

हातमा लिइ सुबर्णकि थालि,

मणिमोति गजूहार भरी हालि।

थाप भिख साधू लौ भनि माइ,

सामू गइ खडि भइन् दिनलाइ ।।

 

देखि तिनकन अनि शिब भन्छन्,

पार माइ मन यो तिमि कन्चन ।

बाल कृष्ण हरि जो अति राम्रा,

छन् भनिकन सुने सूत तिम्रा ।।

 

गर्न दर्शन भनिकन माई,

आई रहेछु सिसू हेरनलाई ।

जोगि  जङ्गलि म त हूँ बन बासि,

के गर्नू र मणि यो भिख थापि ।

 

लिन्न माइ म त त्यो भिख तिम्रो,

राखि छोड घरमा अति राम्रो ।।

बाल कृष्ण हरीजी अति राम्रा

छन् भनिकन सुने सूत तिम्रा ।

 

केहि गर्छु कि भनि नडराइ,

हेर्न देउन जननी सिसू लाई ।

निल चित्र हरियो र गुलाबि,

बैगुने र कुशुमे हरू साथै ।।

 

भ्रान्त भ्रान्त उस भित्र छ दङ्ग,

नेत्रलाइ पनि पार्दछ बङ्ग ।

एक टिका भिभुति दिन्छू लगाई,

भुत डङकिनी हरण गर्नलाई ।।

 

झोलिबाट बिभुति झिकि लिए,

माथमा हरिजिका घसि दिए ।

आशिष दिइ हरिलाई शिब फर्के,

बाल गोप हरू यी सब तर्से ।।

 

बाल कृष्ण ब्रजमा रहनाले

बेस बेस चिजबिज हुन लागे ।

घाँस पात विरूवा बडि आए,

गाई गोपहरूले सुख पाए ।।

 उनै  फुपूबाट यो पनि थाहा लाग्यो कि ठुला गुरू अथबा हाम्रा माइला बूबाले उस समयमा पनि सामाजिक एकता, जातीय उदारता, र आध्यात्मिक चेतनाको जग बसाउन धेरै प्रयास गरेको थियो यो बिरानो ठाऊँमा । त्यो पैत्रीक योगदानको प्रतापले प्रत्यक्षमा म र अप्रतक्ष  रूपमा हाम्रो सम्पुर्ण शिबनिधि परिवार नैँ लाभान्वित र धन्य भएको छ । 

 यीनै चौरासि बर्षीय बृद्धाको स्मृतिद्वारा प्रेषित पद्य हाम्रा परम पूज्य माईला बुबा टेक नाथले करिब २५-३० को उमेरमा गरेको रचना थियो भन्ने बिश्वासका साथ, वाहाँको यो स्मृति ग्रन्थमा समाबेस गरेर मेरो भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछु ।।

 

विकास र वातावरणको सन्तुलन आजको अपरिहार्य आवश्यकता

सायद म १३१४ वर्षको थिएँ होला, जब मैले पहिलोपल्ट मोटरगाडी, गाडी गुड्ने सडक, बिजुली, पक्की घर, बजार र सिनेमाघर देखेँ । त्यहीबेला होला सायद मैले पहिलोपल्ट सहर झर्दा खुट्टाले चप्पल टेकेको पनि । म जन्मेको घरदेखि पुरै दुई दिन पैदल हिँड्दा मात्र पुगिने भएकोले शहरको सुविधा अनुभव गर्न लगभग वयस्क नै भइसक्नुपर्ने अवस्था थियो भर्खरैसम्म, त्यो सुन्दर तर दुर्गम गाउँको ।

गाउँमा त्यो समयको वातावरण, सामाजिक बनोट र एक्लोपनाको कारणले होला, मिलीजुली पर्मा र परेली गर्नुपर्ने, पैसा बिनै पनि कारोबार हुने र त्यसरी नै एकअर्काप्रति सहयोगको भावना पर्याप्त हुने गर्दथ्यो । गरिवी र कठिनाइहरूमा बाँच्न पनि कुनै सङ्कोच थिएन । अभाव भए पनि त्यसलाई सामान्य मानिन्थ्यो । मानिसहरूमा लोभलालचको भावना पटक्कै देखिँदैन थियो । सम्भवतः त्यो ठाउँभन्दा विकसित, त्योभन्दा सजिलो व्यवस्था र त्योभन्दा भिन्न परिवेशको अनुभव नै नभएर होला, मानिस सानासाना खुशीमै पनि औधी रमाउँथे, थोरैमा पनि चित्त बुझाउँथे । यी ता भए करिब ४५५० बर्ष अघिका कुरा । तर आज मैले उठाउन खोजेको विषय चैँ के भने, कसरी विगत डेढदुई दशकमा त्यो विकट ठाउँमा पनि विकासले गति लियो र कसरी सामाजिक सन्तुलन, खेतिपाति र मानिसको दैनिकी सहित अनेक क्षेत्रमा अनुकूल साथै प्रतिकूल असर पारिरहेको छ।

लामो समयको अन्तरालमा करिब ६ महिना अघि मैले माथि उल्लेख गरेको मेरो त्यो जन्मस्थानको भ्रमण गर्ने अवसर मिल्योे । जुन गाउँ भुटानको पश्चिमदक्षिण क्षेत्रको निम्नगिरीस्थित दुर्गम ठाउँमा पर्दछ । दोरोखा डुङ्खाग’ (नगरपालिका) अन्तर्गतको यो देन्चुखा गाउँमा पुग्नलाई राजधानी थिम्फुबाट २४ बर्ष अघि सम्म पूरै तीन दिन लाग्थ्यो, तर आज चाहेमा १ दिनमै पुग्न सकिन्छ ।

धेरै व्यस्तता हुँदाहुँदै पनि मैले यो यात्रालाई बहुआयामिक बनाउने उद्देश्यले दुई दिन लगाएर पुग्ने र कम्तिमा अरू दुई दिन त्यहाँ रहने समय छुट्याएर यात्राको तयारी गरेँ । हामी दम्पती (तुलशा र म) थिम्फुदेखि आनै गाडी चढेर, भिर फोरेर एक दशक लगाएर बनाएको ठुलो फराकिलो बाटो हुँदै फुन्छोलिङ झ¥यौँ । पहिले पूरै एक दिनमा मात्र छिचोलिने करिव डेढसय किलोमिटर लामो भुटानको पहिलो यस राजमार्गलाई आज दोहोरो गाडी गुड्ने फराकिलो बनाइएकोले चार देखि पाँच घण्टामा पुग्न सकिने भएकोे छ । त्यसरी नै दुई वर्ष अघि मात्र पूरा भएको तुर्सा नदीमाथिको पुलले आज साम्ची जिल्लालाई देशका अन्य भागसँग जोडेको छ ।

भारतसँग सीमा जोडिएको देशकै दोस्रो ठुलो शहर फुन्छोलिङमा केही समय विश्राम गरेर हामी नवनिर्मित भित्री बाटोलाई पछ्याउँदै अघि बढ्यौँ । तुर्सा नदीमा बनेको सुन्दर नयाँ पुल तरेपछि आउने साना गाउँहरू, पानबारी, हलहले, साँगुरी इत्यादि हूँदै बेलुका समयमै दोरोखा अन्तर्गत माने गाउँको पुरानो घरमा बास बस्न पुग्यौँ ।

भोलिपल्ट बिहानै आनो गाडीले कच्ची बाटोलाई छिचोल्न नसक्ला भनेर, गाउँकै एउटा बोलेरो (भारतीय कम्पनी महिन्द्राको यो मोडेललाई पहाडकी रानी पनि भन्ने गरिन्छ) भाडामा मिलाएर पारिको गाऊँ देन्चुखातिर लाग्यौँ । साथमा कान्छा दाइ (जेठान), भदै हिरा र सुम्लाचिनका कान्छा ससुराली धनपति ढकाल सहित हाम्रो छ जनाको टोली त्यस यात्रामा सहभागी भयो । केहीकेही ठाउँ मात्र बाटो अलिक फराकिलो र चिल्लो रहेछ, बाँकी अधिकांश बाटो भने बर्खाको पानीले होला, खाडल, ढुङ्गा र साना डिल नाघ्दै जानुपर्ने रहेछ । पहाडकी रानी बोलेरोलाई २०२२ वर्षका भाइले बडो उत्साहका साथ गुडाइरहेका थिए । ती पहिलेका बाक्ला बाँसघारी, झ्याम्म परेका बोटबिरूवा, सुन्तलाका बोटहरू एकदमै घटेका, कतिपय ठाउँमा मासिएका दखिए । ती पनि पातला र कमजोर देखिन्थे भने जताततै भित्ताहरू चिरेर बनाइएका गाडीका बाटाहरूले वरिपरि देखिने सबै पाखाभरि पैरा, फुस्रा धर्सा र धुलो उडेको बैरागलाग्दा दृष्यहरू देखिन्थे । 

गाडीको संख्या थोरै मात्र देखिन्थ्यो तर सडक भने लाग्थ्यो पाखाभरि फैलिएका हरेक घरका आँगनआँगनमै पुगेको होस् । गाउँको वल्लो छेउदेखि पल्लो छेउ पुग्न उर्बर खेतका फाँटहरूलाई चिराचिरा पारेका, बारीका पाटा र कान्लाहरू भत्काएका दृष्य जताततै देखिन्थे । तल खोला झरेपछि पुगिने त्यो ठाउँकै प्रख्यात पुलटारको सुन्तला बगान पूरै मासिएछ । तुर्सामा पहिला झोलुङ्गे पुल थियो अब गाडी चल्ने पुल लागेछ । त्यो विशाल नदीपारि तरेर विगतका पुराना सम्झना ताजा पार्न प्रयास गरेँ ।  

केहीबेर एउटा चिल्लो ढुङ्गामाथि बसेर तुर्सा नदीको सुसाइमा मन्त्रमुग्ध हुँदै हामी पुनः उकालो लाग्यौँ । उकालो हिँडेपछि थाकेर बिसाउने धारापानी, जहाँ चिरेको बाँसको धाराबाट सलल झर्ने चिसो पानी पिएर हामी तिर्खा मेटाउँथ्यौँ, थकाइ बिर्सन्थ्यौँ, अहिले धाराको नामनिशाना मेटिएछ । पानी उम्रिने स्रोत भित्रैसम्म गहिरो गरी डोजरले खनेर हिलो र छिपछिपे मात्र बाँकी राखेछ । बाँसघारी, कटुस, सिरिस, पाँचपातेका नाम्ले रूखहरू धेरै काटिएछन्, डोजरले जरैदेखि उखेलेर पल्टाउन पनि योगदान गरेछ । अब त प्रायः फुस्रा बोट र पोथ्राहरू मात्र बाँकी रहेछन् । भालुसँग जम्काभेट हुने भयले ऊबेला हामी सास न बास भएर दौडने गरेको बाटोको त कताकति अवशेष मात्र बाँकी देखियो । बरु वारिपारि छ्याङ्ग देखिने निर्माण सम्पन्न नभएका सडकका धर्सा र पहिराहरूका दृश्यले प्रकृतिमाथि पनि प्रभुत्व जमाएछ ।

कच्ची सडकमा पुरानो बोलेरो ठुलो आवाजले पाखापखेरा थर्काउँदै रमितेको तलतलैबाट तेर्सो लाग्यो । करङ नै भाँच्ला जस्तोगरी उचाल्दै थेचार्दै गरेता पनि हामी विगतका सम्झनालाई वर्तमानको परिवर्तनसँग तुलना गर्दै बाटो छेउछाउ राताम्मे फुलेका लालपातिका सुन्दर बोटहरू हेरेर रमाउँदै गाउँ छिचोलेर हाम्रो गन्तव्यमा पुग्यौँ । हामीले उहिले पैदल हिँडेर तीनचार घन्टामा छिचोल्ने बाटोलाई घुमाउरो र कच्ची भएकोले गाडीले पनि झन्डै उतिनै समय लगायो । त्यसो त हामी युवा उमेरमा दौडेर पनि बाटो काट्थ्यौँ, चोरबाटोबाट पनि हिँड्थ्यौँ । अब ती कुरा केवल सम्झनामा पुगे ।

आज यो ठाउँमा आउनुको मेरो मुख्य उद्देश्य चैँ यो गाउँमा सन् १९६४ तिर मेरा पिताजी पण्डित चिदानन्द भट्टराईले जनसहभागिताबाट स्थापना गरेको शिवालय मन्दिरको नयाँ भवनको उद्घाटनमा मुख्य अतिथिको भूमिका निभाउनु थियो । उद्घाटन समारोहमा करिव डेढ सय मानिस भेला भएका रहेछन् । गाउँमा आएको सडकको विकासले सबैलाई हर्षित पारेको कुरा प्रायः सबैले भनिरहेका थिए । ऊबेलाको त्यो अनकन्टार गाउँमा आज २५ वटा बोलेरो गाडीको ताँती लगाएर गाउँ परिक्रमा गराएर मूर्तिलाई मन्दिरमा स्थापना गरियो । दिनभरि नै भेटघाट, भलाकुसारी र विभिन्न पूजाकर्महरूमा सहभागी भएर आधा रातसम्म मन्दिरको प्राङ्गणमा बिताइयो ।

भोलिपल्ट कार्यक्रम चलिरहेकै अवस्थामा हामी भने बिदा लिएर अरु ठाउँहरूको अवलोकन गर्दै अर्कै बाटोबाट अघि बढ्यौँ । यो वैकल्पिक बाटो ता अझ म जन्मेको ठूलो टारीखेतलाई बिचैबाट चिरा पारेर गएको रहेछ । मैले चालकलाई यो बाटोको चैं के आवश्यकता परेर यो हाम्रो गन्तव्य विपरीत दिशातिर गइरहेको छ भनेर सोधेँ । उनले केही मिश्रित भावमा भने, “सर यो बाटो केही छोटो छ । यो बेला दुखसुख चल्छ, तर बर्खामा भने बारीको कान्ला लडेर, पानीको मुहान फुटेर, बाटैभरि पानी मात्रै कुद्छ । बाटोको ता नामनिशानै रहँदैन । पानी पर्न रोकिएपछि फेरि पिडब्लूले मरमत गर्छ, अनि यी येस्तै बोलेरो गाडी जसोतसो कुद्छ ।

यो यात्राले मलाई एकप्रकारको गहिरो विडम्बनाको भावना उत्पन्न गरायो । यस परिस्थितिले एकतर्फ बाटोले गर्दा जनजीवनलाई धेरै सुविधा पुगेको छ, अनि विकास निर्माणले गति लिएको छ भने, अर्कोतिर भूक्षय, पहिरो, बनजङ्गलको विनाश र वर्षौदेखि गरी ल्याएको कृषिकर्मको अन्त्य होलाकि जस्तो देखियो । प्राकृतिक वातावरणीय सन्तुलन (इकोसिस्टम) को विनास हुन लागेको, भइरहेको वा भइसकेको देखियो । यो सयौँ बर्षदेखि भौतिक विकासका झिलीमिलीहरूबाट विमुख, प्राकृतिक परिवेश र एकप्रकारको शून्यतामा बाँचेको मेरो गाउँले यी डोजरहरुको उग्रता कतिन्जेल खप्न सक्ला ! नाजुक पहाडहरूमाथिको विकासे प्रहार, इकोसिस्टममा भएको क्षति, वनस्पति र जन्तुहरूको ह्रास, खोलाहरूमा आउने बाढी र भूक्षयको नापाजोखा कहिल्यै होला कि नहोला ! यो आजको भोगाइले मलाई फेरि पोहोर साल मात्र गरेको युरोपको यात्रा, विशेषतः स्विजरल्यान्डको सम्झना भयो ।

हाम्रै जस्ता पहाड, पाखापखेरू, खोलानाला र जङ्गल छन् त्यो देशमा पनि । तर त्यहाँ बनाइएका विकासका अधारहरू जस्तै, सडकहरू, रेलका लिकहरु, घिर्लिङ आदि त्यहाँको प्राकृतिक बनावटसँग लिप्त भएका देखिन्छन् । ती अत्यन्त व्यवस्थित र आकर्षक यातायातका पूर्र्वाधारहरू पर्यटन र कृषि व्यवसायलाई समेत निरन्तरता दिँदै, दिगो विकास र समृद्धिको अभिन्न अंश बन्न सफल छन् । कहीँ पहिरो छैन, जङ्गल फाँडेर कतै ठूलो नाङ्गो पाखो बनाएकोे देखिँदैन । आज त्यो देश विश्वमै समृद्ध र शान्तिको प्रतीकको रूपमा रहेको छ । हाम्रा साना देशहरू, थोरै जनसंख्या भएका राष्ट्रहरू, त्यस्तो किन हुन सक्दैनन् ? विकासको नाममा किन हाम्रो जैविक सम्पत्ति यसरी धमाधम विनाश भइरहेको छ ? हामीले पनि हाम्रो काम, विशेषगरी सडक जस्तो अति आवश्यक विकासको लागि चाहिने आधारभूत संरचनालाई यहाँको वातावरण अनुकूल हुने तकनिकी प्रयोग गरेर पूरा गर्न किन सकिरहेका छैनौँ ?

मलाई लाग्छ, आज एकछिन यो बहुलाहा विकासको क्रमलाई विराम दिएर सबैले सोच्ने समय आएको छ । आजको आवश्यकता भनेको सबैभन्दा बढ्ता असर परेका र भविष्यमा पर्न जाने हाम्रा दूरदराजमा बस्ने र कृषि व्यवसायमा संलग्न मानिसलाई सचेत गराइनु प¥यो र तिनीहरुको भौतिक विकासको चर्को मागलाई केही हदसम्म मत्थर गराउनु प¥यो । प्रत्युत्पादक विकास अनावश्यक छ भन्ने कुराको उनीहरुमा चेतना भर्नुप¥यो । त्यसरी नै विकासका योजना बनाउने र निर्णायक भुमिकामा रहेका राजनैतिक दल र व्यक्तिले अल्पकालीन फाइदाका लागि यस्ता विनाशकारी विकास ल्याउने प्रण गर्न छोड्नु प¥यो र आम मतदाताहरूले पनि त्यस्ता क्षणिक लाभका पछि नलागेर दिगो विकासको माग गर्न सिक्नु प¥यो । राष्ट्रिय योजना बनाउने योजनाकारहरू, शैक्षिक प्रतिष्ठान र वातावरणविद्हरूले पनि सही सल्लाह दिनुप¥यो ।

भयङ्कर डोजर होइन, साना मेसिनरी र वायोइन्जिनियरिङ जस्ता प्रविधिको प्रयोग गरेर विनाश कम गर्न सकिन्छ । बाटो खनेर अधकल्चो छोडेर होइन, नाला काटेर, कलबर्ट र पुल अनि कालोपत्र हालेर मात्र प्रयोगमा ल्याउन सके बाटोले थेग्ने र प्रकृतिको पनि सुरक्षा हुन सक्छ । भत्किएका ठाउँमा मर्मत सम्भार, जमिनको पुनर्भरण तथा वृक्षारोपण जस्ता कामहरू गर्न ढिला नगर्नु अर्को आवश्यकता हो । यसो भए मात्र हामीले विकास र वातावरणको सन्तुलन सधैँका लागि उपयोग गर्न पाउँछौँ । अन्यथा हामीसँग भएका सयौँ किलोमिटर सडकहरू निष्कृय वा मौसमी मात्र हुनेछन् । प्राकृतिक वन, जैविक विविधता बिना अन्ततः कोही पनि बाँच्न सक्दैन र वातावरणमा भएको नोक्सानीको कारण मानिसको जीवन नै त्यहाँ रहँदैन ।