म बुबाआमाको दर्शनार्थ बर्षमा कम्तिमा तीन पल्ट
अनिवार्य घर जाने गरेको अहिले करिब १० बर्ष हुन लाग्यो । मलाई भित्रीमनले खिचेर
घरीघरी गौरादहको बरगाछी पुर्याउँछ । आमाको थोरै असक्तताको स्थिति अनि घरको
सम्पूर्ण काम बुबाको काँधबाट हट्न नसकेको देख्दा ‘बाह्र छोरा तेह्र नाति...’ को उखानले मन झस्काउँछ ।
एक प्रकारले वहाँहरूको निम्ति म सँधै बिदेशी नैँ भन्ने आभास हुँदो हो लाग्छ तर पनि
आजसम्म मलाई ‘यतै आइज’ भन्नु भएको छैन । मेरो भुटानको संसार कति
ब्यापक र अटुट छ भन्ने कुरा पनि वहाँहरुले राम्ररी नै बुझ्नुभएको छ ।
गत पाँच सात बर्ष देखि बुबाले के के लेख्ने
गरेको देख्या छु । बुबाका साथमा सधैँ कुनै न कुनै पुस्तक रहने गर्छ । पहिला धेरै
पढिरहनुहुन्थ्यो तर पछि लेख्न पनि थाल्नु भएको हो । केहि कुराहरू पढेर सुनाउनु पनि हुन्छ । एक बर्ष अघि मात्र थाहा
लाग्यो बुबाले आफ्नो आत्मवृत्तान्त तयार गरि सक्नु भएछ । जिज्ञासा बढ्यो, गर्वले छाति फुल्यो । भाइ लक्ष्मी र दाजु डा
गोबिन्द राज भट्टराईले चाख देखाएर हौसला दिन थाल्नु भयो । मैले पूर्ण सहयोग गर्ने
बाचा गरेँ । किताब सम्पादन हुन लाग्यो, एक बर्ष जतिमा किताब तयार भएर छापियो । पढेर प्रफुल्लित भइयो । सम्पुर्ण कथाले
आफ्नो पारिवारिक कुराहरू मात्र होइन बुबाले देख्नुभएको भोग्नुभएको क्षेत्रको र
त्यहाँ रहने बस्ने नेपाली जातिकै इतिहास बोकेको पाइयो – आर्थिक स्थिति, बसाईँ सराइ, दुख सुखको भोगाइ, आदि ।
असार ३ गते २०७३, काठमाण्डूमा ठूलो जमघट भयो । दाजु डा. गोविन्द राज र भाइ लक्ष्मी (लक्ष्मण
गाम्नागे) को विशेष पहल र परिवारका सबै सदस्यहरूको तत्परतामा बुबाको उक्त कृति
विमोचन गर्ने भव्य कार्यक्रमको आयोजना भयो । हामी चारै जना (तुलसा, अरुण सुरज र म समेत) भूटानबाट त्यही कार्यक्रमा
सहभागी हुने उत्कट इच्छाका साथ काठमाण्डू पुग्यौँ र त्यो एतिहासिक र गौरवशाली
कार्यक्रममा समाहित भयौँ । जीवनमा कल्पनै नगरेको एउटा अति स्मरणीय भेला भयो ।
यस्ता पारिवारिक भेलामा सहभागी हुने अवसर कमै प्राप्त हुने हामीलाई योे समारोहमा
सपरिवार संलग्न हुन पाउनु साँच्चै ऐतिहासिक क्षण थियो । त्यो किन पनि ऐतिहासिक
थियो भने हाम्रा ७९ वर्षीय पिताजीको पहिलो साहित्यिक कृतिको सार्वजनिकीकरण त्यहाँ
हुँदै थियो । कार्यक्रममा धेरै परिवार भित्रकै आफन्त, नजिकैका साथिभाइ, थुप्रै लेखक र समालोचकहरूको उत्साहपूर्ण सहभागिताले कार्र्यक्रम भव्य भएको
थियो ।
कार्यक्रमलाई बहिनी यमुनाले स्वागत भाषणबाट
सुरु गरेर, दाजु डा तुलसी
भट्टराईद्वारा अति सरल तर हृदयस्पर्शी बक्तब्य, मुख्य अतिथी र अरू लेखक र समालोचकका मन्तब्य, अनि बुबाकै अति मृदुभाषामा दिनुभएको बिचार र दाजु डा गोबिन्द राजले अध्यक्षको
आसनबाट दिनुभएको मन्तव्यले समारोहलाई थप शोभायमान गराएको थियो । मलाई पनि अन्त्यमा
धन्यबाद बक्तब्य दिने अवसर मिल्यो । त्यो खुशिको क्षणले मेरो मनलाई धेरै पछिल्तिर
धकेलिदियो जसमध्ये मेरा आफ्नै जीवन यात्राका केही झल्काहरूमा बुबाले खेलेको बिशेष
भूमिकाको सम्झना भयो ।
सायद सन् १९७५ को अन्त्यतिरको पुस महिना हुनु
पर्छ, म पाँचौ श्रेणीमा उसबेला
भूटानमा हुने गरेको राष्ट्रिय स्तरको जाँच
सकेर भएको लामो हिउँदे बिदा मनाउँदै घरको काममा लागेको थिएँ । हिउँदको दिनमा अरू
खेतिको काम थोरै र धेरै चैँ गोठालो गर्नु पर्दथ्यो । त्यसै क्रममा एक दिन गाई
बस्तु छेवैको नालुङ खोलातिर तह लाएर मेरा अभिन्न सहपाठी ओम नाथ कुइँकेलका साथ
गैरीखेतको लामो गरामा धनुकाँड खेलिरहेको थिएँ । तल खेतको पुछारको तेर्छो बाटोमा
बुबा हिँड्दै गरेको देखेँ । त्यो गाउँमा सबै भन्दा सुकिलो लुगा लाएर हिँड्ने
ब्यक्ति बुबालाई निकै टाढाबाट पनि सहजै चिनिन्थ्यो । मैले चिनिहालेँ । यसो उँभो
फर्किएर हामीतिर हेर्नुभयो र फेरि घरतिरको बाटो लाग्नुभयो । हामी हत्तपत्त धनुकाँड
भुइँमा खसालेर सम्हालिँदै र सोझो हुँदै गाईबस्तु डाक्न थाल्यौँ – ओइज, ओइज ।
गोधुली भइसकेकोले बस्तु बटुलेर घर पुगेँ, ओम दाइ आफ्ना गाईबस्तु लिएर घर लागे । मनमा
मेरो परीक्षाफल सुन्ने आतुरता थियो । तर घरमा पुग्दा घरको वातावरण त्यति ठिक लागेन
। बुबाआमाको अनुहारमा केही विषादका रेखाहरू दौडिरहे झैँ लाग्यो । कतै केही अनिष्ट
भएको आभास भयो । आमा बुबाले केही भन्नु पनि भएन, मैले केही सोध्ने आँट पनि गरिनँ । म मनमा दोधार दोधार हुँदै पानी लिन धारातिर
लागेँ । ठूलो ताँबे हत्तरमा पानी ल्याएर अँगेनाको डिलमा बसेँ । बेलुकाको खानापिना
पनि सकियो । अनि मात्र बुबाले मुख फोर्नुभयो, “तिमीहरूको कक्षाका सबैजना फेल भयेछौँ”।
बुबाको कुरा सुनेर म छाँगाबाट खसे झैँ भएँ ।
मैँले ‘पास’ गर्छु भनेर घरमा ढुक्क पारेको थिएँ । त्यो सँगै
बुबाले आज देखेको हाम्रो चर्तिकला (धनुकाँड खेल) को उदाहरण दिँदै म पथभ्रस्ट भएको, अज्ञानता र पछौटेपनको संस्कारमा फसेको अनि
भाइबहिनिहरूका लागि पनि राम्रो उदाहरण नभएको गुनासो गर्नु भयो । मन चसक्क भयो ।
गाउँघरमा बुबाको ठुलो इज्जत थियो, त्यसैले हामी छोराछोरीले
पनि त्यो मापदण्ड भित्र रहनु आवश्यक ठानिन्थ्यो । फेरि ऐकैछिनमा बुबाले शान्त भएर
भन्नुभयो, ‘‘केही बितेको छैन, तिमीहरू स्कूलका सबै बिद्यार्थी हिसाब बिषयमा
फेल भएछौ । मैँले हेडसरसँग कुरा गरेको छु । भोलि नैँ पारि गएर स्कुल सुरु गर्नु ।
स्कूल पनि अप्ठ्यारोमा परेको छ । यो वर्ष स्कूलले पनि कडा मेहेनत गरेर पढाउने भएको
छ, हेडसर पनि चिन्तित
हुनुहुन्छ ।’’
त्यो समयमा एकपल्ट फेल भएपछि फेरि दोहोर्याएर
पढ्ने कुरामा न विद्यार्थी न अविभावक कसैले पनि सोच्दैनथे, त्यसरी दोहो¥याइ दोहो¥याई पढ्नु उनीहरू आबश्यक
नैँ ठान्दैनथे । छोराछोरी फेल भए भने अविभावकका लागि खेति गर्ने र गोठ हेर्ने
सहयोगी प्राप्त हुन्थ्यो, उनीहरू त खुशी पो हुन्थे
। ‘पढि गुनि के काम, हलो जोति खायो माम’ भन्ने आम मान्यता थियो हाम्रो समाजमा । त्यस्तो
पछौटेपन र अन्धकारभित्र बुबाले शिक्षाको महत्व बुझाउने धेरै प्रयास गर्नु भएको
थियो । स्कूल सञ्चालक सदस्य भएर सरकारमा अनेक निबेदनहरू लेखेर र शिक्षकको सेवामा
जनसहयोग जुटाएर मात्र नभएर आफ्नै छोराछोरीको उदाहरण प्रस्तुत गरेर भए पनि शिक्षाको
उज्यालो ज्योति छर्ने निकै कोशिस गर्नु भएको धेरै उदाहरणहरू छन् । अनि त उहाँले
फेल भएको मलाई तुरुन्तै पढ्न जान हौशला दिनुभएको थियो ।
बुबाको भावनालाई सिरोपर गरेर म भोलि पल्टै
अत्यन्त उत्साहका साथ उही पाँच घण्टाको दूरीमा रहेको दोरोखा स्कूल पुगेर अर्को
दिनबाट पढाई शुरु गरेको थिएँ । त्यो बुबाको निर्णय मेरो जीवनको एकदमै ठूलो
निर्णायक कोशेढुंगा सावित भयो। बसेर पढ्ने घर बद्लियो, स्कुलले ठुलो अबिभारा बोकेर हामीलाई पढाईमा
धकेल्यो, अनि बर्षको अन्त्यमा भएको
राष्ट्रस्तरीय परिक्षामा म र मेरा प्राय सहपाठि राम्ररि उत्तिण भयौँ।
अनि फेरि एक बर्ष पुग्दै हाम्रो परिवारको परिबेसले
अर्को मोड लियो। हामि केटाकेटीले राम्रो थाहा नपाउदै बुबा आमाले त्यो हाम्रो जन्म
भुमिलाई छोडेर वाहाँहरुले सँधैँ सम्झना गरिरहनू पर्ने स्वदेश नेपाल फिर्तिको
निर्णय लिनु भएछ। त्यो निर्णयलाई कसैगरि टार्ने स्थिति बिती सक्दा मात्र त्याहाँका
शिक्षित बर्ग र शुभेच्छुकलाई थाहा भयो। त्यो प्यारो भुमि छोड्ने निर्णय बद्लाउन
नसके पनि उनिहरूकै सुझाब र बुबाकै विवेकले मलाई भुटानमै राख्ने र त्यहिको अर्को
ठूलो स्कूलमा अगाडी शिक्षा हाशील गराउने निर्णय भयो। आज सम्म म त्यहिँ रमाएको छु।
आज म र मेरा अरू नौजना दिदी, दाज्यू र भाइबहिनीहरू सबै शिक्षित छौँ, लगनशील भएर आफ्ना आफ्ना ठाउँमा प्रगति गरेका
छौँ । हामी पनि बुबाको पदचापलाई पछ्याउँदै आफ्ना छोराछोरीलाई असल मार्गमा हिँडाउन
सफल छौँ । अनि सबै भन्दा ठुलो कुरा बुबाआमाको स्नेह, मार्गदर्शन र छहारीमा रमाई रहन पाएका छौँ ।
बुबाको आधुनिक शिक्षाप्रतिको गहिरो चासोले त्यो
अँध्यारो गाउमा छरिएको शिक्षाको किरण अहिले पनि प्रज्ज्वलित छ । म जस्ता अरू धेरै
त्यस बेलाका युवाले त्यो उज्यालोको सहारामा माथि उठ्ने अवसर पाएका छौँ । वास्तवमा
सायद बुबाले आफैँ पनि नसोचेको परिणाममा भुटानका बिभिन्न ठाउँमा रहेका साथै बिदेशमा
गएका ती हाम्रा सहपाठीहरू त्यो बेलाको बुबाको प्रयत्नबाट लाभान्वित भएका छन्
भन्नमा अत्युक्ति हुने छैन ।
अनि हामी सम्पूर्ण हजुरबुबा शिबनिधीका सन्तति
परिवारमाझ आज एक अविभावक, प्रेरणादायी ब्यक्तित्व, सहज लेखक, कवि, हाम्रो गौरवशालि परिवारको
स्मृति स्वरूपको ‘‘आत्मवृत्तान्त’’ को स्रष्टाको रूपमा हाम्रा परम पूज्य बुबा पं
चिदानन्द भट्टराई हुनुहुन्छ ।

No comments:
Post a Comment