डा. शिवराज भट्टराई (भुटान) प्रकाशित १ चैत्र २०७७ १३:०१
हो, मलाई अलिअलि थाहा हुँदादेखि नै
सबैभन्दा आनन्दचाहिँ मीठो निद्रामै आउँथ्यो । साँझ नपर्दै निद्राले झ्याप्प
छोप्थ्यो भने बिहान पनि भरसक चाँडो उठ्नु नपरे हुने जस्तो लाग्थ्यो । तर बिहान भने
बुबा–आमा निकै चाँडै उठ्ने गरेकोले हामीलाई पनि छिटै उठाउनु हुन्थ्यो । जतिसुकै
बाहाना गरे पनि आँगनमा उज्यालो खसेपछि त उठ्नै पर्दथ्यो । आज पनि बुबाआमा बिहान
उज्यालो नहुँदै उठिसक्नुहुन्छ । म पनि घर गएको बेला भने सधैँको भन्दा अलिक चाँडो
नै उठ्ने गर्छु ।
निद्राको
कुरा गर्दा मलाई एउटा घटनाकाे सधैँ सम्झनामा आउँछ । म हाइस्कूलमा पढ्थेँ । सायद ७
कक्षामा, एउटा
अविस्मरणीय घटना भएको थियो । होस्टलमा बस्ने भएकोले बेलुका खाना खाएर ७ बजेदेखि ९
बजेसम्म कक्षा कोठामा बसेर सबैले अनिवार्य र नित्य स्वअध्ययन गर्ने नियम थियो ।
सुरुमै त्यति धेरैबेरसम्म, त्यो पनि
खाना खाइसकेपछि बस्न मलाई ज्यादै कठिन भयो । झकाउँदैै, उङ्दै, टाउको झड्कार्दै बानी पार्दै
गएँ । तर एक दिन मलाई साह्रै थाम्न नसक्ने गरी निद्रा लाग्यो । सहनै नसकेपछि त्यो
दिन बेलुकाको पढाइ रेखदेख गर्न खटिएका शिक्षकलाई, ‘मलाई सारै टाउको दुखेको छ’ भनेँ ।
मेरो असल स्वभावको कारणले होला, सरले पनि ममाथि विश्वास गरेर ‘होस्टेलमा गएर आराम गर’ भनेर
अनुमति दिनुभयो । अरुले बाधा नपुर्याउन् भनेर म माथिल्लो तलामा पर्ने खास
विद्यार्थीले मात्र पाउने विशेष कोठामा गएर सुतेँ । त्यो कोठा आफ्नै गाउँका आफन्त
अविभावक दाइको थियो, त्यसैले
पनि त्यो सुरक्षित थियो । भित्रबाट चुकुल लगाएर म करिब ८ बजे सुतेँ । सायद
ओछ्यानमा पल्टिँदा नपल्टिँदै म निद्रादेवीको काखमा भुसुक्कै भइसकेको थिएँ ।
मेरो
अलिअलि होस आउँदा कसैले ठूलो आवाज गरेर मेरो नाम झ्यालबाट डाकिरहेथ्यो । राम्ररी
हेर्दा ती एक सिनियर मित्र सिसाको झ्यालबाट विभिन्न सङ्केत गर्दै मलाई उठाउने
प्रयास गरिरहेका रहेछन् । म कहाँ छु र के भयो भनेर राम्ररी होस आइसकेकै थिएन, विस्तारै उठेँ अनि उता
ढोकाबाहिरबाट आएको ठूलो र धेरै जनाको आवाजले भनेँ म पूरै ब्युँझिएँ । त्यो
माथिल्लो तलाको झ्यालमा कसरी ती मित्र पुगे होला भन्ने सोच्दै, केही सम्हालिँदै गएर ढोका
खोल्दा झण्डै २० जना जति विद्यार्थीको हुल बाहिर ढोका फुटाउन तयार भइसकेका रहेछन्
। भरे राम्ररी बुझ्दा झण्डै १० मिनेट ढोकामा आवाज दिँदा र कराउँदा पनि केही नलागेर
सिँढी झिकाएर ती मित्रलाई माथिल्लो तलामा चढाएर झ्यालबाट मलाई ब्युँझाउन लगाएको
रहेछ । कतिले त पक्कै कुनै अनिष्ट नै भएछ भन्ने शङ्का पनि गरेछन् । म डराउँदै
बाहिर निस्किएँ । म निकै लज्जित पनि भएँ । त्यसपछिका कति दिनसम्म म र मेरो निद्रा
विद्यार्थी साथीहरूमाझ चर्चाको विषय हुन पुग्यो । त्यो दिन अनुभव गरेको जस्तो
कुम्भकर्णीय निद्रा फेरि कहिल्यै दोहोरिएको सम्झना छैन ।
आजभोलि
कुनै रात राम्ररी निद्रा लाग्दैन । कुनै रात एक बजे नै निद्रा खुल्छ अनि धेरैपल्ट
कोल्टे फेर्यो, बाहिर
गयो र कुनै दिन त बिछट्टैको पट्यारले पनि सताउने गर्छ । बल्लतल्ल निदायो फेरि
बिहान पनि प्रायः ३/४ बजे नै निद्रा भाग्छ । छेउमा सुतेकी सखीलाई बाधा नहोस् भनेर
चुप लागेर उज्यालो हुइन्जेल ढल्किरह्यो, फेरि बिहानीपख भुसुक्क पनि भइन्छ
कोहीबेला । ज्यान ओछ्यानमा पल्टिरहे पनि मन भने त्यसरी पल्टिरहन कहाँ मान्छ ? विश्व भ्रमण गर्न पो निस्कन्छ ।
पुग्नुपर्ने गन्तव्यहरू, पुग्न
रहर लागेका ठाउँ, भेट्न मन
लागेका व्यक्ति कति छन् कति । हजारको हाराहारी त आफन्त नै छन्, त्यति नै या त्योभन्दा पनि धेरै
आत्मीयहरू छन्, जो आजको
सुविधा र भूमण्डलीकरणको कारण सबै महादेशमा छरिएका छन् । झनै यो कोरोनाको
माहामारीले यात्रा गर्न प्रतिबन्ध लागेको बेला त मन अझ बढी तड्पिँदो रहेछ । समय र
सोचले भ्याएसम्म ती सबै गन्तव्य र व्यक्तिहरू भए ठाउँ पुग्नुछ कुनै दिन, तर मनको नियन्त्रण पो कसरी
गर्ने ! गर्नु धेरै छ, भ्याई
नसक्नु छ । चलिरहेकै कामधन्दामा पनि सफलता भेट्टाउन कति तगारा र उल्झनहरू छँदैछन्, पन्छाउनु छ, मिलाउनु छ, सम्याउनु छ । नयाँ पनि धेरै
गर्नु छ । त्यसैले यो मनलाई डुलाउन, चराउन, फकाउन, भुल्याउन वा लोभ्याउनका लागि हरिया
खर्कहरूको कुनै कमी छैन । यो मनलाई खेल खेलाउनका लागि खुल्ला मैदानहरूको अभाव छैन
।
सुतेर निदाएको बेला भने, तन मन दुबैलाई डुलाउन पाइन्छ । कहिले
गाडीमा चढेर, कहिले
पैदल,
कहिलेकाहीँ
त उडेर त्यो सुतेको ओछ्यान् छोडेर कहाँ कहाँ पुग्न पनि पाइन्छ, सित्तैमा । सानो छँदा आफू यो
डाँडादेखि त्यो डाँडा उडेको धेरै सपना देखिन्थ्यो । त्यो अति आनन्ददायी क्षण
हुन्थ्यो । उडेको सपना देखियो भने आफू बढिन्छ भन्थे । कोहीबेला भने अप्ठ्यारो गरी
सुतेर होला, वा
ओछ्यान अप्ठ्यारो भएर होला निद्रामै भयङ्कर जनावर या राक्षसले आक्रमण गरेर ऐंठन
पारेको सम्झना पनि धेरै छन् । अहिले पनि कहिलेकाहीँ त्यस्तो ऐंठन हुनेगर्छ तर आज
हाम्रा ओछ्यान अलिक नरम र आरामदायी भएर होला, ऐंठन कम नै हुनेगर्छ । सानो छँदा
ज्वरो आएको बेला भने आकाशमा या शून्यमा अरू कसैको खटनमा डर लाग्ने गरी उडेका वा
लडेका सपना पनि देखिन्थ्यो । यस्तो बेलाचाहिँ बरू ब्युँझदा डर भाग्थ्यो र सपना पो
रहेछ भनेर ढुक्क हुन्थ्यो ।
आजभोलि
पनि प्रायः म सधैँ सपना देख्ने गर्छु । दशौँ वर्ष अगाडि छोडेको जन्मथलो पनि पुग्ने
गर्छु । १२ वर्ष अगाडि छोडेको जागिरमा फर्केको अनपेक्षित वा अनिच्छित सपना पनि
देख्ने गर्छु । त्यसैले कुनै सपनाले हामीलाई औधी नै खुसी दिन्छ भने कुनैले निराश
या भयभित पनि पारिदिन्छ । सपनाको अर्थ र महत्त्वको व्याख्या गर्नेको पनि कमी छैन
हाम्रो समाजमा । धेरैले भन्छन्, बिहानीपख देखेको सपना साकार हुन्छ रे । त्यसरी नै यस्तो सपना
देखे यस्तो हुन्छ, त्यस्तो
देखे उस्तो हुन्छ भनेर विवेचना गरेको पनि सुनिन्छ । सपनाका विवेचकमा ज्योतिषीहरू पनि
पर्छन् र मान्छेहरू सपनाको फल थाहा पाउन उनीहरूकोमा जाने पनि गर्छन् । कति
ज्योतिषीले सपनाको व्याख्या गरेर, त्यो स्वप्नदोषको निवारणद्वारा अर्थको जोहो र जीवनयापन पनि
गर्ने गर्छन् । रोजगारी सिर्जनामा पनि पो सपनाले सहयोग गर्दोरहेछ ।
सेतो साप
राम्रो तर कालो नराम्रो, सेतो
घोडामा चढेको राम्रो भने कालोमा नराम्रो, भात खाएको देखे जुठो लाग्ने (आफन्तमा
मरिमाराऊ हुने), इत्यादि
। तर म यति धेरै सपना देख्ने व्यक्तिले चाहिँ के भन्छु भने सपनाको कुनै पनि अर्थ
छैन । सपनामा देखेको कुराले यथार्थसँग टाढासम्म पनि कुनै सम्बन्ध राख्दैन ।
त्यसैले सपना देखेर हतासिनु पनि पर्दैन, रमाउनु पनि व्यर्थ छ । कुनैबेला मिल्न
गएछ भने त्यसलाई खालि एउटा संयोग ठानी दिए हुन्छ ।
सपनाको कुरा गर्दा दिवा सपनालाई पनि सम्झनुपर्ने हुन्छ ।
यसले हाम्रो जीवनमा ठूलो महत्त्व राख्दछ । म पनि यो विषयको पारखी हुँ भने हुन्छ ।
सानो छँदा अगाडि देखिएको खुसीको स्थिति या प्रभावित पार्ने कुनै कुराको अनुसरण
गर्न खुब रमाइलो लाग्थ्यो । कसैले राम्रो नाचगान गरेमा या कुनै मीठो बाजा या मुरली
फुकेर मानिसहरूको ध्यान तानेको देख्दा म पनि त्यसरी नै सबैलाई मन्त्रमुग्ध पार्ने
गरी नाच्न, गाउन वा
बाजा बजाउन सक्ने भए कस्तो गजब हुन्थ्यो होला जस्तो लाग्थ्यो । सायद यस्तो भावना
सबै केटाकेटीमा आउँदो हो । राम्रो पण्डितले व्यासमा बसेर मीठा मीठा कथा सुनाएर, छमछमी नचाएर भक्तजनहरूलाई लट्ठ
बनाएको देख्दा आफू कहिले त्यो आसनमा पुग्नु जस्तो लोभ लाग्थ्यो । कल्पनाको सन्सार
पनि सपना नै हो । यस्ता धेरै दिवास्वप्नहरूमा डुब्ने क्रममा मैले पनि किशोरवयमा
सवारीचालकको अनुकरण गर्दै कति गाडी कुदाएँ, डाक्टर भएर बिरामीको इलाज गरेँ, शिक्षक भएर बदमास केटाकेटीलाई
कुटेँ,
जहाज
चढेर संसार फन्को मारेँ, मन
परेकालाइ प्रेम गरेँ, सायद
बिहे पनि गरे हुँला । तर सबै सपनामा देखेको जस्तो बिपनामा किन हुन्थ्यो ।
साँच्चीकै शिक्षक भएपछि त मैले कुनै बच्चालाई एक सिर्कनु पनि लगाइनँ ।
दिवा
सपना देख्नु नराम्रो चाहिँ होइन तर अधिक सपना देखेर बेहोसमा रहनु चाहिँ समयको
बर्बाद गर्नु हो । यसले आफूलाई एकाग्र भएर कुनै काम गर्नबाट अवरूद्ध गर्छ ।
त्यसैले आज विचारशीलता भन्ने ठूलो चिन्तनको विषय बनेको छ । धेरै अध्ययन र
खोजअनुसन्धान गरेर कुनै काम गर्दा पनि विचारशीलतामा रहेर गर्दा बढी लाभ हुने, धेरै सफलता पाइने जस्ता तथ्य
अनुसन्धानले देखाएको पनि छ । यसका लागि ध्यान र तपद्वारा मनलाई बसमा राखेर, कुनै काम गर्दा पनि पूरै होसमा
रहेर गर्न सकिने विधिहरू सिकाइन्छ । सधैँ विचारशील रहेर जिउनु जीवन सफलताका लागि
अनिवार्य सावित भएको छ । यो विषयमा आज कति विश्वविद्यालयहरूमा पढाइ र तालिमहरु पनि
दिइन्छ ।
अन्तमा, सुत्नु, निदाउनु, सपना देख्नु (निदाएर या
ब्युँझै) हामी मानवको अपरिहार्य गुण हो । भनिन्छ, हामी पूरा जीवनको झण्डै तीन भाग समय
सुतेरै बिताउँछौँ । यदि हामीले सय वर्षको आयु पायौँ भने पनि ३० वर्ष सुतेरै
बिताउँदा रहेछौँ । यो अलिक धेरै पो भयो कि जस्तो लागेमा हामीले केहीहदसम्म आफ्नो
जीवनको जैविक घडी मिलाउन सक्छौँ र ब्युँझै रहने समय बढाउन, सुत्ने समयलाई औसत ८ घण्टाको
साटो ७ या ६ घण्टा दैनिक पार्न सक्छौँ ।