दुब्लो पातलो ख्याउटे शरिरधारी यो दावालाई म लामो समयदेखि यसरी नै निरन्तर केही न केही काम गरिरहेको देख्छु। ऊ एकछिन पनि चुप लागेर बस्दैन । कलेजमा शौचालय सफा गर्ने काम पाएको छ उसले। तर त्यो कामबाट मात्रै उसको गुजारा चल्दैन। आफू मात्रै भए त जसो तसो चल्थ्यो पनि होला, तर अब उसले आफ्नी श्रीमतीलाई पनि पाल्नु छ। घरपरिवार बसाल्नु छ। भविस्य पनि सोच्नुछ। त्यसै भएर होला दावाको परिश्रम झन् झन् बढिरहेको देख्छु म। उसको काम पनि अरु धेरैको भन्दा अलि भिन्न छ। कलेजको काम सकेर फर्किन साथ ऊ फालिएका काठका टुक्राहरू बटुल्न थाल्छ। काठ मात्र होइन फलामका टुक्राहरू पनि भेला गर्छ। कार्टुन बक्सहरू जम्मा गर्छ। कहिलेकाहीँ त दावाको कार्यशालाबाट घण्टौँसम्म टिन ठोकेको ढ्वाङढ्वाङ् आवाज आइरहन्छ। टिनहरू जम्मा गरेर ठोकेर, चेप्ट्याएर थुपार्ने पनि उसको एउटा दैनिकी नै हो। ल हेर्नोस् न, आजै पनि एउटा अलकत्रे टिन दिनभरि ठटाएर मेरो त कानै खायो। झन् उसको कान कति बज्यो होला। यस्तो चर्को आवाजले उसको कानै बैरो हुने हो कि भन्ने चिन्ता पो लाग्छ मलाई त। आँखा उसै पनि कमजोर छन् दावाका। चश्मा लगाउँछ। त्यहीँ माथि कानले कति थाम्लान् यस्तो चर्को आवाज। तर के गरोस् त दावा, टिन नपिटे जिन्दगीको गाडी गुड्दैन। बेलाबेला म निकै गम्भीर हुन्छु र सोच्छु, यो दावा शेर्पा टिन पिटिरहेको छ कि जिन्दगी?
जे होस्, दावा कामदेखि झर्किएको, रिसाएको मैले कहिल्यै देखेकी छैन। ऊ काम गरिरहेको हुन्छ जतिखेर पनि। मानिसहरूले काम नलाग्ने भनेर फालेका काठका टुक्रा, फलामका टुक्रा र टिनहरू मात्र होइन दावा थोत्रा मेज र कुर्सीहरू पनि कताकताबाट जम्मा गर्छ। थोत्रा मेजहरूलाई ठोकठाक गरेर काम लाग्ने पनि बनाउँछ। काठका टुक्राहरू जोडजाड गरेर पनि काम लाग्ने चिजहरू बनाउँछ। हप्तामा एक पल्ट ‘स्क्रेप डिलर’ आउँदा कसरी कसरी दावाले उसलाई भारी पुर्याएरै पठाउँछ। फूलका गमला राख्न मैले पनि दावासँग दुईवटा पुराना कुर्सी किनेँ। काठका टुक्रा जोडजाड गरेर बनाएको एउटा कामचलाऊ ‘टुल’ पनि किनिदिएँ। कुर्सी र टुलको ज्याला सबै गरेर छ सय रुपैयाँ दिएको दावा दङ्ग पर्यो । ऊ दङ्ग परेको देख्दा मलाई पनि आनन्द लाग्यो।
हेर्दा निकै उमेर खाए जस्तो देखिने भए पनि ऊ तीस वर्षको मात्रै भएछ। काठका टुक्राहरू भेला गरेर काँटी ठोक्तै उसले मलाई आफ्नो कथा पनि सुनायो छोटकरीमा। आमा बाबु ऊ सानै हुँदा बितेछन्। उसलाई हा निबासी आम देछेनले लालन पालन गरेर हुर्काएकि रहिछन्। बालकैमा टुहुरो भएको, अर्काको घरमा बसेको, बच्चैदेखि कामको बोझले उसलाई पेलेछ। कामको बोझले गर्दा दावाले जिउ लिन सकेन। दुब्लो पातलो भयो। उसका हात, गोडा र ठाउका भरि चोटै चोट देखिन्छन्। लडेका, काटेका,दरफ¥याएका, पिटाइ खाएका अनेक चोटपटक। पिटाइ पनि जोडतोडले खाने गथ्र्यो रे केटाकेटीमा। हत्तपत्त नरिसाउने दावालाई एक दिन साँच्चै रिस उठेछ र आँट पनि आएछ। एका बिहानै आम देछेनको घरबाट टाप कसेर थिम्फू आइपुगेछ दावा। थिम्फू आएपछि पनि निकै दुःख कष्ट खप्तै अहिले यो अवस्थासम्म आएको रहेछ। दुःख त अहिले पनि कहाँ कम छ र, तर कम्तिमा आफ्नै स्वतन्त्र पेशा छ, निजी आम्दानी छ, ऊ खुशी छ।
अलिकति कोठेबारी र सानै भए पनि उसको पुख्र्यौली घर थियो रे। तर बाबुको नामबाट त्यो टुहुराको नाममा कसले सारिदिने? उसले पनि त्यतातिर धेरै चासो गरेन बरु आफ्ना वरपरका धेरै साथीभाइ र चिनजानका मान्छे राजधानीतिर काम गरेर बसेका, कतिले सरकारी नोकरी गरेको देखेर उसले पनि यतैतिर भाविस्य देख्यो र यतै बस्ने अठोट ग¥यो। विस्तारै बिस्तारै दावाले नयाँ नयाँ सपनाहरू देख्न थालेको छ। सानो भए पनि उसले नोकरी पाएको छ। सानै भए पनि एउटा व्यवसाय थालेको छ। र सबैभन्दा खुशीको कुरा दावाले आफू जस्तै सरल र मेहनती युवतीसँग विवाह गरेको छ। उसको मायाको संसारमा एउटा नयाँ सदस्यको आगमन पनि छिटै हुँदैछ। श्रीमती दुई जिउकी भएको कुरा सुनाउँदा दावाका आँखा चम्किला भए। बुहारी पनि मुसुक्क मुस्काई। यी दुवैको यो परिश्रमी परिवारको जय होस्। अरु दुनियाँको जस्तै दावाले पनि त सुन्दर सपनाहरू सजाएकै होला। सबैको जस्तै एउटा संसार बसाउने, परिवारको भरन पोशण गर्ने, छोराछोरी खेलाउने, तिनीहरूलाई शिक्षा दीक्षा दिएर ठूलो मान्छे बनाउने ता कि आफ्ना सन्तानले आफूले जस्तो दुःख नपाउन्। उनीहरूले एउटा जिन्दगी बचाउन यसरी टिन ठोक्नु नपरोस्। दावा भाइ,तिम्रो सपना साकार होस्।
तुलशा भट्टराई
थिम्फू भुटान
No comments:
Post a Comment