सन् १९९० को बर्खाको मध्य, एक दिन अचानक भुटानको अति दुर्गम
ठाउँमा अबस्थित आफ्नै गाऊको स्कूलमा कार्यरत तुलशाको फोन आयो । म उस बेला दिल्लि
नजिकैको रोहतकको महर्षि बिश्वबिद्यालयमा एम.एस.सि. को दोस्रो बर्ष प्रबेस गर्दै
थिए । त्यो दुर्लभ फोनले प्रफुल्ल पार्नुको साटो केहि चिन्ता गराउनूको कारण साना आफ्ना
दुई बच्चा पनि उनिसँगै थिए । तर यसपालि भनेँ कुरा अर्कै थियो । धेरै निरासाका साथ
हाम्रो परिवारको भुटानको बसाई नाजुक अबस्थामा पुगेको र म घर आई हाल्नू पर्ने कुरा
उन्ले बताए पछि मैँले भोलिपल्ट नैँ रेल चढ्ने भरोसा उनलाई दिएँ ।
यू.पि., बिहार र बङ्गाल को गर्मि र रेलको भिड भोग्दै म आफ्नो
देशको साम्चि जिल्ला पुगेँ । सधैँ झैँ झोलामा केहि पउरोटि, बिस्कुट र पानि हालेर म
उकालो बाटो लागेँ । त्यो बर्खाको बाटो, खोला, झोडि र भिर छिचोल्दै, बाटै भरि जुकालाई
टोकाउँदै र टिप्दै साँझपर्दा लखतरान परेर म दोरोखा घर पुगेँ । परिवार सँगको मिलनले
केहि राहत दिए पनि, भोलि पल्टै पारि गाऊँको यात्रा अनिबार्य थियो । त्यसरि नैँ
फेरि तल पुलटार हूँदै, बिशाल तुर्सा नदिको पूल तरेर, अनि नाक ठोकिने उकालो चडेर,
बिसाउँदै फेरि सुस्त गतिमा हिँडदै जन्म भुमि गाऊँ मेना पुग्दा, ‘सेन्सस’ (जनगणना)
को टोलि पौँठाक पुगेको थाहा भए पछि म अरू डेड घण्टा हिँडेर साँझ पर्दा त्यस ठाऊँमा
पनि पुघेँ । भोलिपल्ट छानबिन सुरू भयो । ठुला ठेलिका ढड्डा पट्टा पल्टाइए र अचानक
एऊटा ऐतिहासिक पन्ना उघ्रियो, जुन ति नागरिकता तोक्ने टोलिका कार्यकरता बाट पनि
लुक्न सकेन । सन् १९५६ मा उठाइएको त्यो जनसङख्यामा मेरा माईला बडाबा श्रद्वेय टेक
नाथ को नाम बाट सुरू भइ सबै परिवारको नाम सहित अनि तल मेरो बुबाको नाम चिरन्जीबि “निज
भाई” भन्ने उल्लेखित भेटियो । वास्तबमा भरे भुझ्दा ती अक्षर पनि बडाबाकै थिएछन । उसबेला
यो देशमै लेखा पढा भएका मानिस थोरै मात्र थिए त्यसैले गाउँमा रहेका शाक्षारबाट
सरकारी काममा सहयोग लिनू सामान्य मानिन्थ्यो । त्यहि नामावलीको आधारमा मैले १९५८
को अगावै मेरो परिवार यो देशमा प्रबेस गरेको प्रमाण पुरयाउन सफल भएँ र मेरो
नागरिकता बन्यो, र फेरि म र मेरो सानो परिवार सधैँको लागि भुटानि नागरिक हुन
पुग्यो । त्यो कठिन समयको एउटा चमत्कार नैँ भएको भने हुन्छ ।
सायद दुई बर्ष पछाडि होला मैँले बालाई दमकको भाङबारी वाहाँकै
घरमा भेटेर यो घटनाका बारेमा भन्ने मौका पाएँ । खुसि हुँदै वाहाँले भन्नूभो, “बाबू
त्यो पनि हाम्रै मुलुक हो, त्यो देश प्रति हाम्रो परिवार आभारी छ र सँधै रहनू
पर्छ” । यस कुराले त्यो बेला मलाई छोएको थियो । तर मैँले वाहाँको भुटान बसाइ बारे
बिस्त्रित रूपमा नसोधेकोमा मलाई आज त्यो
कुराको भने खेद छ । बिधिको बिडम्बना, हाम्रा सातजना बाहरूमा सबै भन्दा पहिले हामिले वाहाँलाई गुमायौँ अनि समयको बेग
सँगै उस बेलाका वाहाँका भुटानि इष्ट मित्रहरू पनि गई सकेकाले कति भित्रि कुराहरू उल्लेख
गर्न गारोछ ।
पुर्बी नेपालका बिभिन्न ठाऊबाट बिभिन्न कारण हजारौँ नेपाली
मुगलान पस्दा हाम्रा परिवार बाट पनि सबै भन्दा पहिले माइला बुबा आएर त्यो साम्चि भुटानको
देनचुखामा बस्न पुग्नू भएछ । त्यस पछि अरू भाईहरू क्रमस आउने फर्कने क्रममा अन्तरे
देबी प्रसादले पुरै जीवन नै यहि देशमा पुरा गर्नू भयो भने, मेरा बुबा कान्छा सन्१९५८
बाट १९७७ सम्म र माइला बुबा आफै जसलाई ठुला गुरू भनेर त्यो गाऊँले चिन्थ्यो, सन्
१९४५ बाट १९६० (करिब १५ बर्ष) यो पूण्य भुमिमा पारवारिक जीवन बिताएर पुन: नेपाल
फर्केको कुरा थाहा भयो ।
त्यो समयको बसाई- सराई बाद्यता मात्र नभएर धेरै चुनौतिपूर्ण
भएको कुरा, केहि हामिले सुनेका र केहि आफैँले पनि भोगेकै हो । हाम्रो परिवार पनि
यस कुराबाट उन्मुक्त थिएन । अभाव, दरिद्री र रोग ब्याधिले ठूला साना सबैलाइ एकनास
सताएको हुन्थ्यो भनेँ, ठाऊँको दुर्गम्ता, झारा झार्लाङ्गि र सरकारी करको भार सबै
मुलूकमा जटिल थिएछ उसबेला । यस्थै परिस्थिती माझ हाम्रा माइला बाले पनि त्यो
भुटानको अनट्ङकार ठाऊँमा रहेर, जीवन पार्जनको क्रममा ओडारमा, पाखा पखेरोमा, पाटि
पौवामा गुजारा गरेका साथै ठूलि बडिआमालाई पनि माई रोगको ब्याधिमा गुमाएको जस्ता
दर्दपूर्ण कुराहरू थाहा लाग्यो । यी भयानक परिस्थिति बिच पनि त्यो अशिक्षीत र अन्धकारमा
ज्ञानको ज्योती फैलाउन धैरै सफल भएको कुराले वाहाँको दुरदर्शिता प्रष्ट हुन्छ । त्यो
छोटो बसाई बिचमा, पाठशाला बनाएर गाऊँमा प्रौड शिक्षा चलाएको, पूराण र अरू धर्म कर्मका
कामहरू गाराएको, आदी कुराले वाहाँ त्यो
समय भन्दा धेरै अगाडि हुनुहुन्थेछ भन्ने प्रष्ट हुन्छ । सायद वाहाँले सधै कल्पना
गरेको र केहि मात्र सम्म अंकुरण गर्न सफल हुनुभएको त्यो उज्यालो सन्सार हेर्ने र
आफ्ना सन्तानलाई पनि शिक्षाको उज्यालोबाट बञ्चित नराख्ने हेतू त्यो ठाऊँलाई समयमै
छोडेको न्यायोचित लाग्छ आज ।
केहि महिना अगाडि मात्र त्यो गाऊँको यात्रा गरेर फर्केको
थिएँ, धेरै बिकाश आइसकेछ । बाटो, बिजूलि नयाँ स्कूल, हेल्थपोस्ट आदिले त्याहाँका
मानिसलाई धेरै राहत दिएको छ । म भनेँ उसबेलाका धेरै कुराहरू जान्न उत्सुक भएर पनि
कुनै स्रोत नपाऊँदा निराश फर्केको थिएँ । एक
दिन अचानक मेरै थिम्फू निबासमा हाम्री मित फुपू (साँल्दिदि चन्द्रमाया दाहाल) आएर सँधैझैँ एउटा अनौठो गित गुन्गुनाउन थाल्नू भयो
। वाहाँले यसरी सँधै गुनगुनाउने नेपालि पारम्पारिक गित जस्तै सङ्गिनि, बालन, मागल,
असारे भन्दा छुट्टै यो गायनले मलाई जिज्ञासा भयो र मैले त्यस बिषयमा सोध्दा
भन्नूभयो, “ए नानि यो ता भजन हो, हामि सानो छँदा पारी म्याना मा सरदार कूइकेलको
घरमा ठुला गुरूले पूराण भन्नू भएको थियो । दिऊँसोको पुराण सकेपछि बेलुका केटाकेटि
भेला पारेर यो भजन गाउन लाऊनू हुन्थ्यो । मलाई आज सम्म त्यो भजन कण्ठ छ”। वाहाँको
बिवरण अनूसार यो करिब सन् १९५० अथबा सम्बत २००७ को हुनुपर्छ । मैँले पुरै भजन
रेकर्ड गरेँ जुन चैँ भगवान शिब गोकुल गई बालक कृष्णलाई भेटेको रहस्य रहेछ जुन यस्तो
छ ।
हे नृप तम तिमि सुन अर्को,
बाल कृष्ण महिमा छ अपारको ।
गर्न दर्शन भनिकन ताहाँ,
जोगि रूप शिब गए ब्रजमाहाँ ।।
नन्दका घर सरासर आए,
द्वारमा अलग शब्द जगाए ।
डिमडिम डमरू फेरि बजाए,
बाल गोपहरू बिघ्न डराए ।।
देखि तिनकन कुकुर अति भुके,
दौडि गई घरमा सब लुके ।
देखि जोगिकन नन्दकि रानी,
भिख ठिक गरी ल्याइन् खुशी मानी ।।
हातमा लिइ सुबर्णकि थालि,
मणिमोति गजूहार भरी हालि।
थाप भिख साधू लौ भनि माइ,
सामू गइ खडि भइन् दिनलाइ ।।
देखि तिनकन अनि शिब भन्छन्,
पार माइ मन यो तिमि कन्चन ।
बाल कृष्ण हरि जो अति राम्रा,
छन् भनिकन सुने सूत तिम्रा ।।
गर्न दर्शन भनिकन माई,
आई रहेछु सिसू हेरनलाई ।
जोगि जङ्गलि म त
हूँ बन बासि,
के गर्नू र मणि यो भिख थापि ।
लिन्न माइ म त त्यो भिख तिम्रो,
राखि छोड घरमा अति राम्रो ।।
बाल कृष्ण हरीजी अति राम्रा
छन् भनिकन सुने सूत तिम्रा ।
केहि गर्छु कि भनि नडराइ,
हेर्न देउन जननी सिसू लाई ।
निल चित्र हरियो र गुलाबि,
बैगुने र कुशुमे हरू साथै ।।
भ्रान्त भ्रान्त उस भित्र छ दङ्ग,
नेत्रलाइ पनि पार्दछ बङ्ग ।
एक टिका भिभुति दिन्छू लगाई,
भुत डङकिनी हरण गर्नलाई ।।
झोलिबाट बिभुति झिकि लिए,
माथमा हरिजिका घसि दिए ।
आशिष दिइ हरिलाई शिब फर्के,
बाल गोप हरू यी सब तर्से ।।
बाल कृष्ण ब्रजमा रहनाले
बेस बेस चिजबिज हुन लागे ।
घाँस पात विरूवा बडि आए,
गाई गोपहरूले सुख पाए ।।
उनै फुपूबाट यो पनि
थाहा लाग्यो कि ठुला गुरू अथबा हाम्रा माइला बूबाले उस समयमा पनि सामाजिक
एकता, जातीय उदारता, र आध्यात्मिक चेतनाको जग बसाउन धेरै प्रयास गरेको थियो यो
बिरानो ठाऊँमा । त्यो पैत्रीक योगदानको प्रतापले प्रत्यक्षमा म र अप्रतक्ष रूपमा हाम्रो सम्पुर्ण शिबनिधि परिवार नैँ
लाभान्वित र धन्य भएको छ ।
यीनै चौरासि बर्षीय बृद्धाको स्मृतिद्वारा प्रेषित पद्य
हाम्रा परम पूज्य माईला बुबा टेक नाथले करिब २५-३० को उमेरमा गरेको रचना थियो
भन्ने बिश्वासका साथ, वाहाँको यो स्मृति ग्रन्थमा समाबेस गरेर मेरो भावपुर्ण
श्रदाञ्जली अर्पण गर्दछु ।।
No comments:
Post a Comment