Thursday, December 31, 2020

विकास र वातावरणको सन्तुलन आजको अपरिहार्य आवश्यकता

सायद म १३१४ वर्षको थिएँ होला, जब मैले पहिलोपल्ट मोटरगाडी, गाडी गुड्ने सडक, बिजुली, पक्की घर, बजार र सिनेमाघर देखेँ । त्यहीबेला होला सायद मैले पहिलोपल्ट सहर झर्दा खुट्टाले चप्पल टेकेको पनि । म जन्मेको घरदेखि पुरै दुई दिन पैदल हिँड्दा मात्र पुगिने भएकोले शहरको सुविधा अनुभव गर्न लगभग वयस्क नै भइसक्नुपर्ने अवस्था थियो भर्खरैसम्म, त्यो सुन्दर तर दुर्गम गाउँको ।

गाउँमा त्यो समयको वातावरण, सामाजिक बनोट र एक्लोपनाको कारणले होला, मिलीजुली पर्मा र परेली गर्नुपर्ने, पैसा बिनै पनि कारोबार हुने र त्यसरी नै एकअर्काप्रति सहयोगको भावना पर्याप्त हुने गर्दथ्यो । गरिवी र कठिनाइहरूमा बाँच्न पनि कुनै सङ्कोच थिएन । अभाव भए पनि त्यसलाई सामान्य मानिन्थ्यो । मानिसहरूमा लोभलालचको भावना पटक्कै देखिँदैन थियो । सम्भवतः त्यो ठाउँभन्दा विकसित, त्योभन्दा सजिलो व्यवस्था र त्योभन्दा भिन्न परिवेशको अनुभव नै नभएर होला, मानिस सानासाना खुशीमै पनि औधी रमाउँथे, थोरैमा पनि चित्त बुझाउँथे । यी ता भए करिब ४५५० बर्ष अघिका कुरा । तर आज मैले उठाउन खोजेको विषय चैँ के भने, कसरी विगत डेढदुई दशकमा त्यो विकट ठाउँमा पनि विकासले गति लियो र कसरी सामाजिक सन्तुलन, खेतिपाति र मानिसको दैनिकी सहित अनेक क्षेत्रमा अनुकूल साथै प्रतिकूल असर पारिरहेको छ।

लामो समयको अन्तरालमा करिब ६ महिना अघि मैले माथि उल्लेख गरेको मेरो त्यो जन्मस्थानको भ्रमण गर्ने अवसर मिल्योे । जुन गाउँ भुटानको पश्चिमदक्षिण क्षेत्रको निम्नगिरीस्थित दुर्गम ठाउँमा पर्दछ । दोरोखा डुङ्खाग’ (नगरपालिका) अन्तर्गतको यो देन्चुखा गाउँमा पुग्नलाई राजधानी थिम्फुबाट २४ बर्ष अघि सम्म पूरै तीन दिन लाग्थ्यो, तर आज चाहेमा १ दिनमै पुग्न सकिन्छ ।

धेरै व्यस्तता हुँदाहुँदै पनि मैले यो यात्रालाई बहुआयामिक बनाउने उद्देश्यले दुई दिन लगाएर पुग्ने र कम्तिमा अरू दुई दिन त्यहाँ रहने समय छुट्याएर यात्राको तयारी गरेँ । हामी दम्पती (तुलशा र म) थिम्फुदेखि आनै गाडी चढेर, भिर फोरेर एक दशक लगाएर बनाएको ठुलो फराकिलो बाटो हुँदै फुन्छोलिङ झ¥यौँ । पहिले पूरै एक दिनमा मात्र छिचोलिने करिव डेढसय किलोमिटर लामो भुटानको पहिलो यस राजमार्गलाई आज दोहोरो गाडी गुड्ने फराकिलो बनाइएकोले चार देखि पाँच घण्टामा पुग्न सकिने भएकोे छ । त्यसरी नै दुई वर्ष अघि मात्र पूरा भएको तुर्सा नदीमाथिको पुलले आज साम्ची जिल्लालाई देशका अन्य भागसँग जोडेको छ ।

भारतसँग सीमा जोडिएको देशकै दोस्रो ठुलो शहर फुन्छोलिङमा केही समय विश्राम गरेर हामी नवनिर्मित भित्री बाटोलाई पछ्याउँदै अघि बढ्यौँ । तुर्सा नदीमा बनेको सुन्दर नयाँ पुल तरेपछि आउने साना गाउँहरू, पानबारी, हलहले, साँगुरी इत्यादि हूँदै बेलुका समयमै दोरोखा अन्तर्गत माने गाउँको पुरानो घरमा बास बस्न पुग्यौँ ।

भोलिपल्ट बिहानै आनो गाडीले कच्ची बाटोलाई छिचोल्न नसक्ला भनेर, गाउँकै एउटा बोलेरो (भारतीय कम्पनी महिन्द्राको यो मोडेललाई पहाडकी रानी पनि भन्ने गरिन्छ) भाडामा मिलाएर पारिको गाऊँ देन्चुखातिर लाग्यौँ । साथमा कान्छा दाइ (जेठान), भदै हिरा र सुम्लाचिनका कान्छा ससुराली धनपति ढकाल सहित हाम्रो छ जनाको टोली त्यस यात्रामा सहभागी भयो । केहीकेही ठाउँ मात्र बाटो अलिक फराकिलो र चिल्लो रहेछ, बाँकी अधिकांश बाटो भने बर्खाको पानीले होला, खाडल, ढुङ्गा र साना डिल नाघ्दै जानुपर्ने रहेछ । पहाडकी रानी बोलेरोलाई २०२२ वर्षका भाइले बडो उत्साहका साथ गुडाइरहेका थिए । ती पहिलेका बाक्ला बाँसघारी, झ्याम्म परेका बोटबिरूवा, सुन्तलाका बोटहरू एकदमै घटेका, कतिपय ठाउँमा मासिएका दखिए । ती पनि पातला र कमजोर देखिन्थे भने जताततै भित्ताहरू चिरेर बनाइएका गाडीका बाटाहरूले वरिपरि देखिने सबै पाखाभरि पैरा, फुस्रा धर्सा र धुलो उडेको बैरागलाग्दा दृष्यहरू देखिन्थे । 

गाडीको संख्या थोरै मात्र देखिन्थ्यो तर सडक भने लाग्थ्यो पाखाभरि फैलिएका हरेक घरका आँगनआँगनमै पुगेको होस् । गाउँको वल्लो छेउदेखि पल्लो छेउ पुग्न उर्बर खेतका फाँटहरूलाई चिराचिरा पारेका, बारीका पाटा र कान्लाहरू भत्काएका दृष्य जताततै देखिन्थे । तल खोला झरेपछि पुगिने त्यो ठाउँकै प्रख्यात पुलटारको सुन्तला बगान पूरै मासिएछ । तुर्सामा पहिला झोलुङ्गे पुल थियो अब गाडी चल्ने पुल लागेछ । त्यो विशाल नदीपारि तरेर विगतका पुराना सम्झना ताजा पार्न प्रयास गरेँ ।  

केहीबेर एउटा चिल्लो ढुङ्गामाथि बसेर तुर्सा नदीको सुसाइमा मन्त्रमुग्ध हुँदै हामी पुनः उकालो लाग्यौँ । उकालो हिँडेपछि थाकेर बिसाउने धारापानी, जहाँ चिरेको बाँसको धाराबाट सलल झर्ने चिसो पानी पिएर हामी तिर्खा मेटाउँथ्यौँ, थकाइ बिर्सन्थ्यौँ, अहिले धाराको नामनिशाना मेटिएछ । पानी उम्रिने स्रोत भित्रैसम्म गहिरो गरी डोजरले खनेर हिलो र छिपछिपे मात्र बाँकी राखेछ । बाँसघारी, कटुस, सिरिस, पाँचपातेका नाम्ले रूखहरू धेरै काटिएछन्, डोजरले जरैदेखि उखेलेर पल्टाउन पनि योगदान गरेछ । अब त प्रायः फुस्रा बोट र पोथ्राहरू मात्र बाँकी रहेछन् । भालुसँग जम्काभेट हुने भयले ऊबेला हामी सास न बास भएर दौडने गरेको बाटोको त कताकति अवशेष मात्र बाँकी देखियो । बरु वारिपारि छ्याङ्ग देखिने निर्माण सम्पन्न नभएका सडकका धर्सा र पहिराहरूका दृश्यले प्रकृतिमाथि पनि प्रभुत्व जमाएछ ।

कच्ची सडकमा पुरानो बोलेरो ठुलो आवाजले पाखापखेरा थर्काउँदै रमितेको तलतलैबाट तेर्सो लाग्यो । करङ नै भाँच्ला जस्तोगरी उचाल्दै थेचार्दै गरेता पनि हामी विगतका सम्झनालाई वर्तमानको परिवर्तनसँग तुलना गर्दै बाटो छेउछाउ राताम्मे फुलेका लालपातिका सुन्दर बोटहरू हेरेर रमाउँदै गाउँ छिचोलेर हाम्रो गन्तव्यमा पुग्यौँ । हामीले उहिले पैदल हिँडेर तीनचार घन्टामा छिचोल्ने बाटोलाई घुमाउरो र कच्ची भएकोले गाडीले पनि झन्डै उतिनै समय लगायो । त्यसो त हामी युवा उमेरमा दौडेर पनि बाटो काट्थ्यौँ, चोरबाटोबाट पनि हिँड्थ्यौँ । अब ती कुरा केवल सम्झनामा पुगे ।

आज यो ठाउँमा आउनुको मेरो मुख्य उद्देश्य चैँ यो गाउँमा सन् १९६४ तिर मेरा पिताजी पण्डित चिदानन्द भट्टराईले जनसहभागिताबाट स्थापना गरेको शिवालय मन्दिरको नयाँ भवनको उद्घाटनमा मुख्य अतिथिको भूमिका निभाउनु थियो । उद्घाटन समारोहमा करिव डेढ सय मानिस भेला भएका रहेछन् । गाउँमा आएको सडकको विकासले सबैलाई हर्षित पारेको कुरा प्रायः सबैले भनिरहेका थिए । ऊबेलाको त्यो अनकन्टार गाउँमा आज २५ वटा बोलेरो गाडीको ताँती लगाएर गाउँ परिक्रमा गराएर मूर्तिलाई मन्दिरमा स्थापना गरियो । दिनभरि नै भेटघाट, भलाकुसारी र विभिन्न पूजाकर्महरूमा सहभागी भएर आधा रातसम्म मन्दिरको प्राङ्गणमा बिताइयो ।

भोलिपल्ट कार्यक्रम चलिरहेकै अवस्थामा हामी भने बिदा लिएर अरु ठाउँहरूको अवलोकन गर्दै अर्कै बाटोबाट अघि बढ्यौँ । यो वैकल्पिक बाटो ता अझ म जन्मेको ठूलो टारीखेतलाई बिचैबाट चिरा पारेर गएको रहेछ । मैले चालकलाई यो बाटोको चैं के आवश्यकता परेर यो हाम्रो गन्तव्य विपरीत दिशातिर गइरहेको छ भनेर सोधेँ । उनले केही मिश्रित भावमा भने, “सर यो बाटो केही छोटो छ । यो बेला दुखसुख चल्छ, तर बर्खामा भने बारीको कान्ला लडेर, पानीको मुहान फुटेर, बाटैभरि पानी मात्रै कुद्छ । बाटोको ता नामनिशानै रहँदैन । पानी पर्न रोकिएपछि फेरि पिडब्लूले मरमत गर्छ, अनि यी येस्तै बोलेरो गाडी जसोतसो कुद्छ ।

यो यात्राले मलाई एकप्रकारको गहिरो विडम्बनाको भावना उत्पन्न गरायो । यस परिस्थितिले एकतर्फ बाटोले गर्दा जनजीवनलाई धेरै सुविधा पुगेको छ, अनि विकास निर्माणले गति लिएको छ भने, अर्कोतिर भूक्षय, पहिरो, बनजङ्गलको विनाश र वर्षौदेखि गरी ल्याएको कृषिकर्मको अन्त्य होलाकि जस्तो देखियो । प्राकृतिक वातावरणीय सन्तुलन (इकोसिस्टम) को विनास हुन लागेको, भइरहेको वा भइसकेको देखियो । यो सयौँ बर्षदेखि भौतिक विकासका झिलीमिलीहरूबाट विमुख, प्राकृतिक परिवेश र एकप्रकारको शून्यतामा बाँचेको मेरो गाउँले यी डोजरहरुको उग्रता कतिन्जेल खप्न सक्ला ! नाजुक पहाडहरूमाथिको विकासे प्रहार, इकोसिस्टममा भएको क्षति, वनस्पति र जन्तुहरूको ह्रास, खोलाहरूमा आउने बाढी र भूक्षयको नापाजोखा कहिल्यै होला कि नहोला ! यो आजको भोगाइले मलाई फेरि पोहोर साल मात्र गरेको युरोपको यात्रा, विशेषतः स्विजरल्यान्डको सम्झना भयो ।

हाम्रै जस्ता पहाड, पाखापखेरू, खोलानाला र जङ्गल छन् त्यो देशमा पनि । तर त्यहाँ बनाइएका विकासका अधारहरू जस्तै, सडकहरू, रेलका लिकहरु, घिर्लिङ आदि त्यहाँको प्राकृतिक बनावटसँग लिप्त भएका देखिन्छन् । ती अत्यन्त व्यवस्थित र आकर्षक यातायातका पूर्र्वाधारहरू पर्यटन र कृषि व्यवसायलाई समेत निरन्तरता दिँदै, दिगो विकास र समृद्धिको अभिन्न अंश बन्न सफल छन् । कहीँ पहिरो छैन, जङ्गल फाँडेर कतै ठूलो नाङ्गो पाखो बनाएकोे देखिँदैन । आज त्यो देश विश्वमै समृद्ध र शान्तिको प्रतीकको रूपमा रहेको छ । हाम्रा साना देशहरू, थोरै जनसंख्या भएका राष्ट्रहरू, त्यस्तो किन हुन सक्दैनन् ? विकासको नाममा किन हाम्रो जैविक सम्पत्ति यसरी धमाधम विनाश भइरहेको छ ? हामीले पनि हाम्रो काम, विशेषगरी सडक जस्तो अति आवश्यक विकासको लागि चाहिने आधारभूत संरचनालाई यहाँको वातावरण अनुकूल हुने तकनिकी प्रयोग गरेर पूरा गर्न किन सकिरहेका छैनौँ ?

मलाई लाग्छ, आज एकछिन यो बहुलाहा विकासको क्रमलाई विराम दिएर सबैले सोच्ने समय आएको छ । आजको आवश्यकता भनेको सबैभन्दा बढ्ता असर परेका र भविष्यमा पर्न जाने हाम्रा दूरदराजमा बस्ने र कृषि व्यवसायमा संलग्न मानिसलाई सचेत गराइनु प¥यो र तिनीहरुको भौतिक विकासको चर्को मागलाई केही हदसम्म मत्थर गराउनु प¥यो । प्रत्युत्पादक विकास अनावश्यक छ भन्ने कुराको उनीहरुमा चेतना भर्नुप¥यो । त्यसरी नै विकासका योजना बनाउने र निर्णायक भुमिकामा रहेका राजनैतिक दल र व्यक्तिले अल्पकालीन फाइदाका लागि यस्ता विनाशकारी विकास ल्याउने प्रण गर्न छोड्नु प¥यो र आम मतदाताहरूले पनि त्यस्ता क्षणिक लाभका पछि नलागेर दिगो विकासको माग गर्न सिक्नु प¥यो । राष्ट्रिय योजना बनाउने योजनाकारहरू, शैक्षिक प्रतिष्ठान र वातावरणविद्हरूले पनि सही सल्लाह दिनुप¥यो ।

भयङ्कर डोजर होइन, साना मेसिनरी र वायोइन्जिनियरिङ जस्ता प्रविधिको प्रयोग गरेर विनाश कम गर्न सकिन्छ । बाटो खनेर अधकल्चो छोडेर होइन, नाला काटेर, कलबर्ट र पुल अनि कालोपत्र हालेर मात्र प्रयोगमा ल्याउन सके बाटोले थेग्ने र प्रकृतिको पनि सुरक्षा हुन सक्छ । भत्किएका ठाउँमा मर्मत सम्भार, जमिनको पुनर्भरण तथा वृक्षारोपण जस्ता कामहरू गर्न ढिला नगर्नु अर्को आवश्यकता हो । यसो भए मात्र हामीले विकास र वातावरणको सन्तुलन सधैँका लागि उपयोग गर्न पाउँछौँ । अन्यथा हामीसँग भएका सयौँ किलोमिटर सडकहरू निष्कृय वा मौसमी मात्र हुनेछन् । प्राकृतिक वन, जैविक विविधता बिना अन्ततः कोही पनि बाँच्न सक्दैन र वातावरणमा भएको नोक्सानीको कारण मानिसको जीवन नै त्यहाँ रहँदैन ।

No comments:

Post a Comment